कांग्रेस महाधिवेशन चाँडो सुरु गर्न २५ केन्द्रीय सदस्यको ७ बुँदे दबाब

nepaltext.com

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षका २५ केन्द्रीय सदस्यहरूले पार्टीको १५ औँ महाधिवेशनसँग सम्बन्धित ७ बुँदे मागसहित ज्ञापनपत्र पार्टी नेतृत्वलाई बुझाएका छन्। सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बुझाइएको उक्त ज्ञापनपत्रबारे केन्द्रीय सदस्य उदय शमशेर राणाले जानकारी दिँदै, महाधिवेशन उचित समयमा सुरु नहुँदा आगामी राजनीतिक प्रक्रियामा प्रत्यक्ष असर पर्ने चिन्ता उठाइएको बताए।

सदस्यहरूले बुझाएको ज्ञापनपत्रमा सरकारले फागुन २१ गतेका लागि तोकेको प्रतिनिधिसभा निर्वाचनलाई परिणाममुखी बनाउन पार्टीले मङ्सिर १५ गतेभित्र १५ औँ महाधिवेशन सुरु गर्नै पर्ने माग राखिएको छ। ज्ञापनपत्रमा भनिएको छ— ‘आसन्न २०८२ साल फागुन २१ गतेको निर्वाचनलाई परिणाममुखी बनाउन पार्टीको विधान बमोजिम २०८२ साल मङ्सिर महिनाभित्र १५ औँ महाधिवेशन प्रारम्भ गरी तहगत रूपमा अधिवेशन सम्पन्न गर्नका लागि कार्यतालिका बनाई लागू गर्ने।’

त्यसैगरी, महाधिवेशनको पहिलो पूर्वाधार मानिने क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण कार्य तत्काल टुंग्याउन समयसीमा निर्धारण गर्नुपर्ने माग पनि राखिएको छ। उनीहरूले पार्टी विधानलाई समसामयिक आवश्यकताअनुसार संशोधन गर्दै युवा पुस्ताको उल्लेखनीय प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, आन्तरिक निर्वाचन समितिलाई तुरुन्तै पूर्णता दिनुपर्ने, र पार्टीको सबै तहमा महिला, दलित, आदिवासी जनजाति, थारु, मधेसी, मुस्लिम, पिछडिएको क्षेत्र तथा अपाङ्गता भएका समुदायको अर्थपूर्ण सहभागिता ग्यारेन्टी गर्नुपर्ने मागसमेत अघि सारेका छन्।

त्यस्तै, स्थानीयदेखि संघीय तहसम्म उम्मेदवार छनोटमा समानुपातिक समावेशिताको सिद्धान्तअनुसार युवा उमेर समूहलाई प्राथमिकता दिनुपर्ने, संविधान संशोधनका विषयमा वडादेखि केन्द्रीय तहसम्म व्यापक छलफल सञ्चालन गरी स्पष्ट पार्टी अवधारणा निर्माण गर्नुपर्ने प्रस्ताव पनि ज्ञापनपत्रमा समावेश गरिएको छ।

महाधिवेशन सम्बन्धी मागहरूसँगै, भदौ २३ र २४ गते भएका घटनाबारे निष्पक्ष छानबिन गरी आपराधिक गतिविधिमा संलग्न सबैलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्नुपर्ने माग समेत उनीहरूले अघि सारेका छन्।

प्रतिक्रिया