जेनजी आन्दोलनमा जलेको भाटभटेनी भत्काउनुपर्दा हिल्टन होटल किन परेन?

nepaltext

काठमाडौं। भदौं २४ गते भएको जेनजी आन्दोलनले राजधानीका ठूला निजी व्यावसायिक संरचनामाथि गम्भीर क्षति पु‍र्‍यायो। आन्दोलनको क्रममा देशकै ठूलो खुद्रा व्यापार शृंखला भाटभटेनी सुपरमार्केटका १२ वटा शाखामा आगलागी भएको थियो भने नक्सालस्थित पाँचतारे हिल्टन काठमाडौं पनि आगोको चपेटामा परेको थियो। करिब पाँच दिनसम्म नियन्त्रणबाहिर रहेको आगलागीले दुवै संरचनामा ठूलो भौतिक क्षति पु‍र्‍यायो। तर, समान प्रकृतिको क्षतिबाट गुज्रिएका यी दुई ठूला संरचनाको पुनर्निर्माण मोडेल भने अहिले फरक–फरक देखिएको छ, जसले सार्वजनिक रूपमा बहस र प्रश्न दुवै जन्माएको छ।

आन्दोलनपछि भाटभटेनीले आफ्ना क्षतिग्रस्त संरचनालाई पूर्ण रूपमा भत्काएर नयाँ निर्माण गर्ने रणनीति अपनाएको छ। कम्पनीले केही स्थानमा पुनर्निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइसकेको छ भने अन्य स्थानमा निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। भाटभटेनीले अपनाएको यो मोडेलले दीर्घकालीन सुरक्षा, संरचनागत स्थायित्व र उपभोक्ताको विश्वासलाई प्राथमिकतामा राखेको देखिन्छ।

यसको विपरीत, नक्सालस्थित हिल्टन होटल भने पुरानै संरचनामा मर्मत गरेर पुनः सञ्चालनमा ल्याउने तयारीमा छ। बाहिरबाट हेर्दा नै आगलागीका कारण क्षतिग्रस्त देखिने संरचनामा पुनःनिर्माण भइरहेको भन्दै स्थानीय बासिन्दा र सरोकारवालाले प्रश्न उठाइरहेका छन। विशेषगरी फलामका संरचनाहरू बांगिएको, केही भागमा कालोपन अझै देखिने र पुराना संरचनामै टालटुल गरेर काम भइरहेको दृश्यले उनीहरूमा असुरक्षाको भावना बढाएको छ।

स्थानीयका अनुसार आगलागीपछि पटक–पटक किन भवन भत्काएर नयाँ निर्माण नगरेको भनेर सोध्दा प्राविधिक टोलीले भत्काउनु नपर्ने प्रतिवेदन दिएको जवाफ आएको छ। तर, उक्त प्रतिवेदन सार्वजनिक गरिएको छैन। यहीँबाट पारदर्शिताको प्रश्न उठेको छ। सार्वजनिक सरोकारसँग जोडिएको यति ठूलो संरचनाको प्राविधिक अवस्था गोप्य राखिनुले थप शंका जन्माएको छ।

प्राविधिक रूपमा हेर्दा आगलागीपछि कुनै पनि भवनको अवस्था मूल्यांकन गर्न अत्यन्त सूक्ष्म परीक्षण आवश्यक पर्छ। उच्च तापक्रममा पुगेको फलामको शक्ति घट्न सक्छ र कंक्रिटमा पनि सूक्ष्म चिरा पर्न सक्छ। यस्ता क्षति बाहिरबाट सजिलै देखिँदैनन तर दीर्घकालीन रूपमा गम्भीर जोखिम बन्न सक्छन। यदि मुख्य संरचनागत भाग सुरक्षित रहेको प्रमाणित भयो भने मर्मत गरेर पुनः प्रयोग गर्न सकिन्छ। तर, यस्तो निर्णय अत्यन्त विश्वसनीय परीक्षण र पारदर्शी प्रतिवेदनमा आधारित हुनुपर्छ।

नेपालजस्तो भूकम्पीय जोखिम उच्च रहेको देशमा यो विषय अझ संवेदनशील हुन्छ। आगलागीबाट कमजोर भएको संरचनाले भविष्यमा भूकम्पको बेला थप जोखिम निम्त्याउन सक्छ। त्यसैले यस्ता भवनको पुनः प्रयोग गर्दा दोहोरो सावधानी आवश्यक हुन्छ। यही कारणले भाटभटेनीले पूर्ण रूपमा नयाँ संरचना निर्माण गर्ने निर्णय लिएको हुनसक्ने विश्लेषण गरिएको छ।

व्यावसायिक दृष्टिले हेर्दा पनि दुवै संस्थाको रणनीति फरक देखिन्छ। भाटभटेनीले दीर्घकालीन लगानीको दृष्टिकोण अपनाउँदै नयाँ संरचना निर्माणमार्फत भविष्यको जोखिम कम गर्ने र उपभोक्तामा विश्वास कायम गर्ने बाटो रोजेको छ। यसले प्रारम्भिक लागत बढाउने भए पनि दीर्घकालीन रूपमा सुरक्षित र स्थायी समाधान दिन सक्छ।

अर्कोतर्फ हिल्टन होटलले तुलनात्मक रूपमा छिटो सञ्चालनमा फर्कने रणनीति अपनाएको देखिन्छ। अन्तर्राष्ट्रिय ब्राण्डका लागि लामो समय बन्द रहनु आर्थिक रूपमा महँगो हुन सक्छ। त्यसैले मर्मतमार्फत छिटो सञ्चालनमा फर्कने प्रयास गरिएको हुनसक्छ। तर, यस्तो निर्णयले छोटो समयको फाइदा दिए पनि दीर्घकालीन जोखिम बढाउने सम्भावना भने रहन्छ।

यस घटनाले नेपालमा भवन सुरक्षासम्बन्धी नीति, मापदण्ड र त्यसको कार्यान्वयनमाथि गम्भीर प्रश्न उठाएको छ। एउटै प्रकृतिको क्षतिमा फरक–फरक निर्णय आउनुले नियामक निकायको भूमिका र मापदण्डको एकरूपतामा कमजोरी देखिएको छ। यदि एउटै स्तरको क्षतिमा एक संरचना भत्काउनुपर्ने र अर्को मर्मत गर्न मिल्ने हो भने त्यसको स्पष्ट आधार सार्वजनिक हुनुपर्छ।

यस सन्दर्भमा सरकार र सम्बन्धित निकायले स्वतन्त्र प्राविधिक मूल्यांकन गराउने, प्रतिवेदन सार्वजनिक गर्ने र सार्वजनिक प्रयोगमा आउने भवनमा कडा मापदण्ड लागू गर्ने आवश्यकता देखिएको स्थानीयहरुको भनाइ छ। विशेषगरी होटल, अस्पताल, सपिङ कम्प्लेक्सजस्ता धेरै मानिसको आवतजावत हुने संरचनामा सुरक्षा मापदण्ड झनै कडा हुनुपर्छ।

विश्व बजारमै नकरात्मक सन्देश जाने जोखिम

हिल्टन होटल आफैमा विश्वप्रशिद्ध ब्राण्ड हो। अमेरिकी चेन होटलको रुपमा प्रख्यात रहेको हिल्टनले काठमाडौंको यो संरचनामा जोखिम मोलेर बनाएको भवनमा होटल सञ्चालन गर्न खोज्नु आफैमा नकरात्मक भएको एक पर्यटन व्यवसायीको भनाइ छ। ‘उसै त आगो लाग्दा होटलमा भएको फायर सिस्टमले किन काम गरेन भनेर प्रश्न उठिरहेको छ,’ ती पर्यटन व्यवसायीले भने, ‘त्यसैमाथी संरचना नभत्काई टालटुले पारामा भवन बनाएर पछि ठूलो दुर्घटना भए त्यसको जिम्मेवारी को बन्ने?’

भुकम्पको उच्च जोखिम रहेको नेपालमा आगोलागीबाट ध्वस्त भएको संरचनालाई टालटुल गरेर भवन निर्माण गर्नुनै जोखिम रहेको ती व्यवसायीको भनाइ छ। लगानीकर्ताले पैसाको लोभमा धेरै पर्यटकहरुलाई जोखिमममा राख्न लागिरहेको छ, ती व्यवसायीले भने, अहिलेकै अवस्थामा भवन बनाउन ठिक छ भन्ने प्रतिवेदननै अव बन्ने सरकारले एक पटक पुनःनिरिक्षण गराउनुपर्छ, भविष्यमा निम्तिने दुर्घटनाले नेपालको पर्यटन क्षेत्रमै छवि विगार्छ।

बिमा नपाउने भएपछि टालटुल गरेर बनाउदै

आन्दोलनको क्रममा जलेर नष्ट भएको हिल्टन होटलले ५ अर्ब रुपैयाँ बिमा दाबी गरेको छ। करिब ८ अर्ब लगानीमा निर्माण सम्पन्न भएको होटलमा ४ अर्बभन्दा बढी ऋण विभिन्न बैंकको रहेको छ। हिल्टन सञ्चालकहरुले आफ्नै रिइन्सुरेन्स हिमाल रि मार्फत बिमा गराएको हुँदा स्वार्थ बाझिने भएपछि अहिले तनाव बेहोरिरहेको छ। ओरियन्टल मार्फत बिमा गराएर पनि रि इन्सुरेन्स भने हिमाल रि मा गराएको थियो। अहिले प्राधिकरणमा मुद्धा परिरहेकोले सो रकम पाउने स्थीति नदेखिएपछि सञ्चालकले टालटुल गरेर निर्माण गरिरहेको हो।


प्रतिक्रिया