काठमाडौं–हेटौंडा जोड्ने छोटो मार्गअन्तर्गत् मकवानपुरको भीमफेदी गाउँपालिकामा भएको टाटासुमो जिप दुर्घटनामा मृत्यु भएका र घाइतेहरूको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार साँझ भीमफेदी गाउँपालिका–६ जुरीखेतमा ना १ ज १७७८ नम्बरको टाटासुमो जिप सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेको थियो । जिपमा ६ जना पुरुष, एक महिला, एक बालिका र एक बालक गरी ९ जना सवार थिए । दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ३ जना घाइते भएका थिए ।
प्रहरीले दुर्घटनाको करिब १२ घण्टापछि मृतक तथा घाइतेहरूको पहिचान सार्वजनिक गरेको हो । मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीका अनुसार मृतकमध्ये चार जनाको पहिचान खुलेको छ भने दुई जनाको अझै पहिचान हुन सकेको छैन । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–४ कमलडाँडा बस्ने ४० वर्षीय सविता लम्साल, हेटौंडा उपमहानगरपालिका–२ कान्तिराजपथ बस्ने २९ वर्षीय निखिल अग्रवाल, भारत बिहार पटनाका ४२ वर्षीय रजनिस कुमार तथा भारत बिहार बेगुसराईका करिब ५० वर्षीय अरबिन्द कुमार रहेका छन् । अन्य मृतक करिब ३५ र ४० वर्षका दुई पुरुषको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई हेटौंडा अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा घाइते भएकामध्ये जिप चालक हेटौंडा उपमहानगरपालिका–४ कर्राचोक बस्ने करिब ४०–४५ वर्षका गणेश थापा र मृतक सविता लम्सालका १२ वर्षीय छोरा अभ्यास लम्सालको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज रिफर गरिएको छ । हेटौंडा अस्पतालमै उपचाररत् अर्की घाइते रौतहटको चन्द्रपुर नगरपालिका–२ बस्ने रिचा चौधरीको अवस्था भने मध्यम रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।