सरकारले मूल्य र अनुदान तोकेपछि खुट्टी उखु काट्न किसान हतारमा

nepaltext.com

महोत्तरी । सरकारले सोमबार उखुको मूल्य र अनुदान निर्धारण गरेको छ। तर महोत्तरीका उखु किसानहरूले भने सरकारले मागअनुसार मूल्य नतोके पनि गत वर्षभन्दा केही बढाएकोमा चित्त बुझाएका छन्। उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाले भने, “हाम्रो त खेतीमा बढ्दो लागत र आम उपभोग्य वस्तुमा भएको मूल्यवृद्धि हेरेर प्रतिक्विन्टल रु ७५० पाउनुपर्छ भन्ने थियो। तर सरकारले मूल्य र अनुदान निर्धारणमा ६९० रुपैयाँ मात्रै निर्धारण गरिदियो।” उनका अनुसार मूल्य र अनुदानसमेत गर्दा गत वर्षभन्दा प्रतिक्विन्टल रु ७० ले बढेको छ। सरकारले चिनी उद्योगले दिने मूल्य प्रतिक्विन्टल रु ६२० र अनुदान रु ७० गरी जम्मा ६९० रुपैयाँ तोकेको छ।

यस बेला खुट्टी उखु (दोस्रो वर्षको बाली) चाँडै काटेर अन्य बाली समयमै लगाउनुपर्ने दबाबले किसानहरू उद्योग सञ्चालनको प्रतिक्षामा छन्। भङ्गाहा–४ का किसान अरुण गिरी भन्छन्, “अहिले हामीसँग मूल्यमा चित्त दुखाएर सरकारसँग निहुँ खोज्ने समय छैन, अब खुट्टी उखु काट्न ढिलाइ भए खेतबारी छ महिनासम्म बाँझै बस्ने चिन्ता छ। अब चाँडै उद्योग सञ्चालन होस् भन्ने हतारो छ।” उखुको पहिलो वर्षको फसललाई ‘मुडन’ र दोस्रो वर्षकोलाई ‘खुट्टी’ भनिन्छ। पुस तेस्रो साताभित्र अर्को बाली नलगाए खेतबारी रुखिने र पानी पर्खनुपर्ने अवस्था आउन सक्ने किसानहरूले बताएका छन्।

उखु किसान र उनका प्रतिनिधि सङ्घहरूले हरेक वर्ष कात्तिक मसान्तभित्र मूल्य निर्धारण र मङ्सिर दोस्रो साताभित्रै खुट्टी उखुको क्रसिङ खोल्नुपर्ने माग राख्दै आएका छन्। उखु उत्पादक कृषक सङ्घका अध्यक्ष कुशवाहाले भने, “सरकारले यसपाली मूल्य प्रतिक्विन्टल रु ३५ बढायो र अनुदान रु ७० दिने घोषणा ग¥यो। गत वर्ष मूल्य रु ५८५ र अनुदान रु ३५ मात्र थियो। यो गत वर्षभन्दा निकै राम्रो हो।”

जिल्लाको गौशाला–१ रामनगरस्थित एभरेष्ट सुगर ऐण्ड केमिकल इण्डष्ट्रिज अझै सञ्चालनको सुरसारमा नहुँदा किसानहरू खुट्टी उखु काट्न ढिलाइको चिन्तामा छन्। उद्योगले मूल्य निर्धारण टुङ्गिएको र चाँडै क्रसिङ सुरु हुने तयारी रहेको जनाएको छ। यसपाली क्रसिङ खोल्नुअघि डोला पूजा यही मङ्सिरभित्रै सम्पन्न गरेर पुस पहिलो साता क्रसिङ खोल्ने योजना छ। जिल्लामा नौ हजार ६०० बिघामा उखु खेती गरिएको छ, जसमा पाँच हजार बिघाको खुट्टी र चार हजार ६०० बिघाको मुडन रहेको छ।

प्रतिक्रिया