देश र जनतामाथि अनिष्ट भइरहेको भन्दै राष्ट्रपति कार्यालयको तर्फबाट दोलखास्थित ऐतिहासिक भीमेश्वर मन्दिरमा क्षमा पूजा र रुद्राविशेष गरिएको छ।
जीवित देवी कुमारीले दोलखा भीमेश्वरको सिलामा पसिना आएको जानकारी राष्ट्रपति रामचन्द्र पौडेललाई गराएकी थिइन्। तर यसपटक कोही कसैले त्यसप्रति समयमै पूजा नगरेको कारण राष्ट्रमा अनिष्टको संकेत देखिएको जनाइएको छ।
भीमेश्वर गुठी व्यवस्थापन समितिका सचिव राजेन्द्र नारायण श्रेष्ठका अनुसार, सिलामा पसिना आउँदा राष्ट्र प्रमुखको तर्फबाट बलि पूजा र क्षमा पूजा गर्ने पुरानो परम्परा रहिआएको हो। तर, यसपटक कोरा पूजासहित क्षमा पूजा र रुद्राविशेष मात्र गरिएको उनले बताए।
राष्ट्रपति कार्यालयको तर्फबाट उपसचिव इश्वरीप्रसाद पाण्डे, सहायक स्वकीय सचिव सुशील तिमल्सिना र काठमाडौँस्थित कुमारी घरका अध्यक्ष गौतम शाक्यसहितको टोली दोलखा भीमेश्वर मन्दिर पुगेर पूजामा सहभागी भएको थियो।
पूजाको क्रममा दोलखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालसहित सुरक्षाकर्मीहरू पनि उपस्थित थिए।