राष्ट्रिय सभा निर्वाचनको लागि एमालेसहित ६ दलले गरे दर्ता

श्याम खतिवडा

काठमाडौँ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले दल दर्ता प्रक्रिया सम्पन्न गरेको छ। बुधबार एमालेका नेता टोलीसहित निर्वाचन आयोग पुगेपछि आयोगले दर्ता भएको पुष्टि गरेको हो। प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता नगरेको एमालेले यसपटक भने राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि औपचारिक दर्ता गराएको हो।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बुधबार बेलुकासम्म एमालेसहित ६ राजनीतिक दलले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता गराएका छन्। ती दलहरूमा नेकपा एमाले, नेमकिपा, बहुजन शक्ति पार्टी, नेपाली कम्युनिस्ट पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा रहेका छन्।

५९ सदस्यीय राष्ट्रिय सभामा फागुन २० गतेदेखि एक तिहाइ पद रिक्त हुँदैछ। संवैधानिक व्यवस्थाअनुसार पद रिक्त हुने एक महिना अघि नै चुनाव गरिनुपर्ने भएकाले माघ ११ गते मतदान हुने तय गरिएको हो। यस निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता हुनेछन्। उनीहरूको मतभार क्रमशः १९ र ५३ रहनेछ।

प्रतिक्रिया