काठमाडौंस्थित सिंहदरबारमा सोमबार माननीय शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्वीटजरल्याण्डका राजदूत महामहिम ड्यानिएल मेउलीबीच शिष्टाचार भेटवार्ता भएको छ। मन्त्रालयमा भएको उक्त भेटघाटका क्रममा उनीहरूबीच दुई देशको आपसी हित, द्विपक्षीय सम्बन्ध, विकास सहायता परिचालनका साथै स्विस सरकारले नेपालको शिक्षा क्षेत्रमा पुर्याउँदै आएको सहयोग र भावी साझेदारी अभिवृद्धिका विषयमा विस्तृत छलफल भयो। नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षा क्षेत्रमा लामो समयदेखि स्विस सरकारको 'स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड को अपरेसन' (एसडिसी) ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटीइभिटी) मार्फत सहयोग गरिरहेको छ। हाल यसै अन्तर्गत ‘नेशनल भोकेश्नल क्वालिफिकेस सिस्टम’, ‘इन्ह्यान्सड स्किल फर सस्टेनेवल एन्ड रिवार्डिङ इम्प्लोइमेन्ट’ र ‘क्वालिटी टेक्निकल एन्ड भोकेश्नल Education एन्ड टे«निङ फर युथ’ गरी तीनवटा महत्वपूर्ण परियोजनाहरू सञ्चालनमा रहेका छन्।
भेटका अवसरमा सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षामन्त्री पोखरेलले नेपाल र स्वीटजरल्याण्डबीचको सुखद सम्बन्धको स्मरण गर्दै शिक्षा क्षेत्रमा स्विस सरकारले पुर्याएको योगदानका लागि धन्यवाद ज्ञापन गरे। प्राविधिक शिक्षालाई समय सान्दर्भिक बनाउन विज्ञ समूहको रायसहित सिटीइभिटी सम्बन्धी ऐनको मस्यौदा तयार भइरहेको र यसलाई छिट्टै संसदमा पेश गर्ने तयारी रहेको जानकारी गराउँदै मन्त्री पोखरेलले आगामी दिनमा स्विस सहयोगको निरन्तरताको अपेक्षा राखे। सरकारको आगामी प्राथमिकता प्रस्तुत गर्दै उनले परम्परागत प्रविधि शिक्षाका अतिरिक्त डिजिटाइजेशन र समावेशी शिक्षाका क्षेत्रमा पनि सहकार्य गर्न सकिने धारणा राखे। नेपाल सरकारले सातै प्रदेशमा विशेष अटिजम विद्यालय स्थापना गर्ने नीति लिएको जानकारी गराउँदै उनले विद्यालय तहदेखि नै रोजगारमुखी शिक्षामा जोड दिनुपर्ने बताए। साथै, काठमाडौँ महानगरपालिकामा सफल प्रमाणित भएको ‘बुकफ्रि फ्राइडे’ कार्यक्रमलाई पाठ्यक्रममै समावेश गरी देशभर विस्तार गर्ने योजना अनुरूप सरकार प्राविधिक शिक्षालाई प्राथमिकता दिएर अघि बढेको मन्त्री पोखरेलको भनाइ थियो।
सोही क्रममा महामहिम राजदूत ड्यानिएल मेउलीले नेपालको शिक्षा क्षेत्रमा स्वीटजरल्याण्ड सरकारले गर्दै आएको सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। नेपाल सरकारले अघि सारेका अवधारणा र प्राथमिकताहरूमा स्विस सरकार जहिले पनि सहयोग तथा सहकार्य गर्न तयार रहेको उनले प्रस्ट पारे। यसै सन्दर्भमा राजदूत मेउलीले हाल शिक्षा क्षेत्रमा बेग्लाबेग्लै रूपमा सञ्चालन भइरहेका तीन वटा परियोजनाहरूलाई एकीकृत (एउटै) बनाएर अझ बढी प्रभावकारी ढंगले अघि बढाउने गृहकार्य भइरहेको जानकारीसमेत शिक्षामन्त्रीसमक्ष गराएका छन्।