काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालयमा आज पनि तनावको अवस्था सिर्जना भएको छ । बन्दसूचीमा संशोधनको माग गर्दै चार दिनदेखि आमरण अनशनमा बसेकी केन्द्रीय सदस्य नानीमैया आचार्यलाई कार्यालयबाट बाहिर निस्किन दबाब दिइएपछि वातावरण अशान्त बनेको हो । पार्टी संस्थापन पक्षीय महिलाहरूको एक समूह आज अनशनस्थलमा पुगेर आचार्यलाई त्यहाँबाट हट्न दबाब दिएको र हुलहुज्जतसमेत गरेको जनाइएको छ । घटनास्थलमै रहेकी नेतृ चम्पा अधिकारीले भनिन्, ‘केही नेतृहरु आएर अनशन बसिरहनुभएकी नानीमैया आचार्यमाथि हातपात र दुव्र्यवहार गर्नुभएको हो । शान्तिपूर्ण सत्याग्रहमा बस्दा अमानवीय हर्कत गरियो ।’ अध्यक्ष राजेन्द्र लिङदेनले नै महिला टोलीलाई पार्टी कार्यालयमा पठाएको दाबी गर्दै उनले यसलाई योजनाबद्ध दबाबको रूपमा चित्रण गरिन् । घटनामा राप्रपाको महिला संगठनकी महासचिव कुमारी स्याङताङ, कोषाध्यक्ष नारायणी राई, बिमला चिमोरिया श्रेष्ठ, रिना लखार्जु, अन्जु सुबेदीलगायत संलग्न रहेको बुझिएको छ । यस घटनाले पार्टीभित्रको आन्तरिक असन्तुष्टि र शक्ति संघर्ष पुनः सतहमा आएको संकेत गरेको छ, जहाँ शान्तिपूर्ण आन्दोलन गरिरहेकी नेतृलाई नै पार्टीभित्रबाट दवाव र दुर्व्यवहार झेल्नुपरेको अवस्था देखिएको छ ।