काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही प्रस्थान गर्ने तयारीमा छन् । नख्खु कारागार प्रशासनले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुर्याइसकेको छ । केहीबेरमा उनी जहाजमार्फत भैरहवा जाने कार्यक्रम छ ।
रुपन्देही जिल्ला अदालतमा उपस्थित भई उनले छुटपुर्जीसम्बन्धी कागजात लिनुपर्नेछ । यसअघि उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले रवि लामिछानेले पेश गरेको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक ग्यारेन्टी स्वीकार गर्दै उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो ।
आज बिहान ७:५५ बजे भैरहवाका लागि उडान तय भए पनि विमानस्थल आसपास घना हुस्सु लागेका कारण उडानमा ढिलाइ भएको रुपन्देहीका रास्वपा नेता मधु अर्यालले जानकारी दिए ।
उनका अनुसार, “भैरहवा विमानस्थल अहिलेसम्म खुलेको छैन । सभापति धेरै समयदेखि काठमाडौं विमानस्थलमै प्रतीक्षामा हुनुहुन्छ । विमान अवतरण भएपछि हामी सिधै अदालत जानेछौं ।”
भैरहवा विमानस्थल प्रशासनका अनुसार भिजिबिलिटी कम भएकाले हालसम्म उडान हुन सकेको छैन । सूचना अधिकारी विनोदसिंह राउतका अनुसार मौसम खुलेर भिजिबिलिटी सामान्य हुन करिब दुई घण्टा लाग्ने अनुमान गरिएको छ ।
यसैबीच, रास्वपाका कार्यकर्ताहरू भैरहवा विमानस्थल वरपर जम्मा भइसकेका छन् ।