सुरुङभित्र खोज तथा उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन

nepaltext

काठमाडौं । जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण संरचनाका सुरुङभित्र खोज तथा उद्धार कार्यलाई सुरक्षित र प्रभावकारी बनाउन स्विट्जरल्यान्डले नेपाललाई अत्याधुनिक ड्रोन उपलब्ध गराएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठको सचिवालयको पहलमा प्राप्त उक्त ड्रोन नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण गरिएको हो। स्विट्जरल्यान्डको ड्रोन निर्माता कम्पनी ‘फ्लाईबिलिटी’ले निर्माण गरेको ड्रोन विशेषगरी मानवीय उद्धार तथा जोखिमपूर्ण संरचनाको निरीक्षणका लागि प्रयोग गर्न सकिने जनाइएको छ।

स्विट्जरल्यान्डका मानवीय सहायता विज्ञहरूले ड्रोन नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधिलाई हस्तान्तरण गरेका हुन्। मानिस प्रवेश गर्न कठिन हुने अँध्यारा, साँघुरा तथा जोखिमयुक्त सुरुङभित्र खोजी, निरीक्षण र अवस्थाको पहिचान गर्न सक्ने गरी ड्रोन तयार गरिएको छ।

ड्रोनमा विशेष सुरक्षा घेरा जडान गरिएको छ। जसका कारण सुरुङका भित्ता, चट्टान वा अन्य संरचनामा ठोक्किँदा पनि ड्रोनमा ठूलो क्षति नपुगी पुनः उडान गर्न सक्ने क्षमता रहेको बताइएको छ।

सुरुङभित्रको वास्तविक अवस्था प्रत्यक्ष रूपमा पहिचान गर्न सकिने भएकाले उद्धार टोलीलाई सम्भावित जोखिमको मूल्याङ्कन गर्न, फसेका व्यक्तिको अवस्थाबारे जानकारी लिन तथा उद्धारको रणनीति बनाउन ड्रोनले सहयोग गर्ने अपेक्षा गरिएको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार उद्धारकर्तालाई सुरुङभित्र प्रवेश गराउनुअघि सम्भावित जोखिम पहिचान गर्न सकिने भएकाले नयाँ प्रविधिले कठिन परिस्थितिमा खोज तथा उद्धार कार्यलाई थप सुरक्षित र प्रभावकारी बनाउनेछ।

जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य भूमिगत संरचनामा दुर्घटना वा विपद्का समयमा खोज तथा उद्धार चुनौतीपूर्ण हुने भएकाले यस्तो अत्याधुनिक प्रविधिको प्रयोगलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।

प्रतिक्रिया