काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन तयारीका लागि गठन गरिएको व्यवस्थापन समिति सचिवालयको बैठक सोमबार बिहान च्यासलस्थित पार्टी मुख्यालयमा बसेको छ। महासचिव शंकर पोखरेलको अध्यक्षतामा भएको बैठकले महाधिवेशनका विस्तृत व्यवस्थापन, सहभागिता, कार्यक्रममा समायोजन तथा आवश्यक संरचनागत तयारीबारे व्यापक छलफल गरेको एमाले संगठन विभाग सचिव माधव ढुङ्गेलले जानकारी दिए।
उनका अनुसार विभिन्न उपसमितिहरूले गरिरहेका काम तथा पेस गरिएको प्रतिवेदनको समीक्षा गर्दै महाधिवेशन तयारी अब अन्तिम चरणमा पुगेको निष्कर्ष बैठकले निकालेको छ। आगामी मंसिर २७ गतेदेखि सुरु हुने ११औँ राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न तयारीहरू युद्धस्तरमा भइरहेको पार्टीले जनाएको छ।
समितिहरूले समग्र प्रगतिको मूल्यांकन गर्दै बाँकी काम तोकिएको समयमै पूरा गर्न व्यवस्थापन समिति सचिवालयको अर्को बैठक मंसिर २५ गते बस्ने निर्णय भएको ढुङ्गेलले बताए। महाधिवेशन सञ्चालनका लागि एमालेले यसअघि १३ वटा उपसमिति गठन गरेको थियो। ढुङ्गेलका अनुसार, ‘सम्भवतः ११ औँ राष्ट्रिय व्यवस्थापन समिति सचिवालय सो बैठक अन्तिम बैठक हुने छ’।