काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले जेनजी पुस्ताले गर्ने विरोध र्यालीलाई समर्थन जनाएका छन्। साथै उनले नेता, सांसद, कार्यकर्ता र अभियन्ताहरूप्रति स्वार्थका लागि र्यालीलाई प्रयोग नगर्न आग्रह गरेका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै मेयर बालेनले भने, “भोलिको र्याली स्पष्ट रूपमा जेनजीको स्वतःस्फूर्त र्याली हो। उहाँहरू भनेको २८ वर्षमुनि हुनुहुन्छ। जसका लागि म पनि अझै बुढो देखिन्छु। मलाई पनि उहाँहरूको इच्छा, उद्देश्य र सोच बुझ्न मन छ।”
उनले थप लेखे, “यस र्यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता वा अभियन्ताले आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नुहोस्। म उमेर हदबन्दीका कारण प्रत्यक्ष सहभागी हुन सक्दिनँ, तर मेरो पूर्ण समर्थन छ। प्रिय जेनजी, तपाईंहरूले कस्तो देश देख्न चाहनुहुन्छ?”
सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय र मौलाउँदै गएको भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले सोमबार देशव्यापी स्वतःस्फूर्त विरोध र्याली गर्ने तयारी गरेका छन्।