एमाले महाधिवेशन प्रतिनिधि निर्वाचनमा विवाद, ओखलढुङ्गा–धनकुटामा मतगणना स्थगित

श्याम खतिवडा

विराटनगर । नेकपा एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनौटका निर्वाचनमा विवाद उत्पन्न भएपछि मतगणना स्थगित गरिएको छ। ओखलढुङ्गा र धनकुटामा हिजो भएको निर्वाचन बहिस्कार भएको थियो। तर निर्वाचन भएको कारण हालसम्म मतगणना रोकिएको एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले बताए। उनका अनुसार ती जिल्लामा प्रतिनिधि निर्वाचनका विषयमा छानबिन आवश्यक देखिएको र वर्तमानमा छलफल भइरहेको छ।

ओखलढुङ्गामा प्रतिनिधि छनोटका लागि दुई समूह तयार भएका थिए। यज्ञराज सुनुवार नेतृत्वको समूहले अम्बिरबाबु गुरुङ नेतृत्वको समूहमाथि एकलौटी रूपमा निर्वाचन गरिएको आरोप लगाएको छ। सुनुवार समूहले जिल्ला भरीका मतदाताका लागि केवल सदरमुकाम ओखलढुङ्गामा मतदान केन्द्र बनाइएकोले निर्वाचन बहिस्कार गर्नुपरेको दाबी गरेको छ। अम्बिरबाबु समूहले भने निर्वाचन सम्पन्न भएको भन्दै प्रतिनिधिमा विजयी भएकाहरूको नाम सार्वजनिक गरेको छ। ओखलढुङ्गाबाट महाधिवेशनमा १२ जना प्रतिनिधि जानेछन्।

अम्बिरबाबु समूहले खुलातर्फ अम्बिरबाबु गुरुङ, ज्ञानबहादुर खड्का, कमलप्रसाद न्यौपाने, अशोक थापा, राजीव कटवाल र केदारबाबु बस्नेत विजयी भएको दाबी गरेको छ। महिलातर्फ इच्छाकुमारी गुरुङ, जुना विक, पशुपति गुरुङ र रमिला मगर श्रेष्ठ, युवातर्फ टिकाराम धमला र दलिततर्फ ज्यानु कालिकोटे महाधिवेशन प्रतिनिधि चयन भएको बताइएको छ।

धनकुटामा राजेन्द्र राई र इन्द्रमणि पराजुली समूहबीच विवाद हुँदा इन्द्रमणि समूहले निर्वाचन बहिस्कार गरेको छ। राजेन्द्र समूहले भने निर्वाचन सम्पन्न भएकाले मतगणना हुनुपर्ने बताउँदै आएको छ।

कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, खोटाङ र सोलुखुम्बु जिल्लामा भने सर्वसम्मत प्रतिनिधि चयन भएको छ। मोरङ–३, झापा–२ र सुनसरी–२ मा मतगणना जारी रहेको छ भने अन्य निर्वाचन क्षेत्रमा मतगणना सकिएको एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए।

प्रतिक्रिया