सुनको मूल्यले तोड्यो सबै रेकर्ड, तोलाको तीन लाख १८ हजार नाघ्यो

nepaltext.com

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । एकैदिन सुन तोलामा ९ हजार ५ सय रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य तीन लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य पनि उल्लेख्य रूपमा बढ्दै ४ सय ३० रुपैयाँले उकालो लागेर तोलाको ७ हजार ३ सय रुपैयाँ पुगेको छ । यसअघि मङ्गलबार सुन तोलाको तीन लाख ९ हजार ३ सय रुपैयाँ र चाँदी तोलाको ६ हजार ८ सय ७० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन एक औँसको पाँच हजार २ सय अमेरिकी डलर र सोही परिमाणको सेतो धातु अर्थात् चाँदी १ सय ११ अमेरिकी डलरमा किनबेच भइरहेको छ, जसको असर नेपाली बजारमा पनि मूल्य वृद्धिको रूपमा प्रत्यक्ष देखिएको छ ।

प्रतिक्रिया