१७ पुस, काठमाडौं l राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवार सूचीमा समेटिएका पर्वतारोही टासी लाक्पा शेर्पाले आफ्नो नाम फिर्ता लिन चाहेको बताएका छन्। आफ्नै कर्म र पेशामार्फत देशका लागि योगदान दिन चाहेको भन्दै उनले दलगत राजनीतिमा संलग्न नहुने स्पष्ट पारेका हुन्। फोर्टिन पिक्स एक्सिपिडिसनका सीईओ समेत रहेका टासीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ आफ्नो नाम छनोट गरिएकोमा धन्यवाद व्यक्त गरे पनि, आफू दलगत राजनीतिमा रुचि नराख्ने भएकाले सूचीबाट नाम हटाउन चाहेको उल्लेख गरेका छन्। उनले सधैं एक साधारण नागरिकको हैसियतमा, आफ्नो कर्ममार्फत देशको उन्नतिमा सक्दो योगदान गर्ने प्रतिबद्धता दोहोर्याउँदै आगामी निर्वाचनमा सबै राजनीतिक दल तथा योग्य उम्मेदवारहरूलाई शुभकामना पनि दिएका छन्। टासी मिङ्मा शेर्पाका भाइ हुन्, जो केही दिनअघि औपचारिक रूपमा रास्वपामा प्रवेश गरेका थिए। दाजुको पार्टी प्रवेशपछि दिएको भाषणको भिडियो सेयर गर्दै टासीले त्यसअघि नै उनको राजनीतिक सफलताको कामना गरेका थिए। यता, रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवार सूचीमा नातावाद, कृपावाद र परिवारवाद हावी भएको भन्दै व्यापक आलोचना हुँदै आएको छ, जसलाई लिएर पार्टीभित्रैबाट आलोचना खेपेका सभापति रवि लामिछानेले सूची सच्याइने बताउँदै आएका छन्।