१६ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। पहिले ब्याटिङ रोजेको चितवनले आजको खेलका लागि दुई परिवर्तन गरेको छ, जसअनुसार दीपक बोहरा र रिजन ढकालको स्थानमा अमरसिंह राउटेला तथा आइकोनिक खेलाडी सौगात ढकाल सहभागी भएका छन्। चितवन विदेशी खेलाडीमा धेरै निर्भर देखिएको छ। पहिलो खेल जितेको चितवन दोस्रो खेलमा पराजित भएको थियो, तेस्रो खेलमा सुधार गर्दै फेरि चौथो खेलमा हार बेहोरेको थियो।
जनकपुरले पनि आजको खेलका लागि दुई परिवर्तन गरेको छ। ललित राजवंशी र किशोर महतोको स्थानमा अनिल साह र सचिन भट्ट टोलीमा परेका छन्। अघिल्लो खेलमा कप्तान अनिल साहलाई बेन्चमा राख्दै दक्षिण अफ्रिकी खेलाडी वायन पार्नेललाई कप्तानी दिइएको थियो, तर जनकपुरले नतिजामा परिवर्तन ल्याउन सकेको थिएन। जनकपुरले काठमाण्डु गोर्खाज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्ससँग हार बेहोरेको छ, र आजको खेल जितेर गणितीय हिसाबले भए पनि प्लेअफको दौडमा रहन चाहन्छ।
चितवनले यसअघि कर्णाली याक्सलाई पहिलो खेलमा हराएपछि लुम्बिनी लायन्ससँग पराजित भएको थियो, त्यसपछि विराटनगरलाई हराउँदै काठमाण्डु गोर्खाजसँग फेरि हार बेहोरेको थियो। अब उसले सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्ससँग खेल्न बाँकी छ। चार खेलमा दुई जितसहित चार अंक जोडेको चितवन आजको खेल जितेमा प्लेअफ पुग्नका लागि सहज स्थिति बन्नेछ। तर पराजित भएमा बाँकी दुवै खेल अनिवार्य जित्नुपर्ने, साथै अन्य परिणाम तथा नेटरनरेटको हिसाब पनि हेर्नुपर्ने अवस्था आउन सक्छ।
जनकपुरका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण छ। प्रारम्भिक चार खेलमा लगातार हार बेहोरेको जनकपुरले अब बाँकी तीनै खेल जिते पनि अन्य टोलीका नतिजामा भर पर्नुपर्नेछ। आजको खेलमा पराजित भएमा जनकपुर प्रतियोगिताबाट बाहिरिनेछ।