प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त

nepaltext.com

२० माघ, काठमाडौं । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमन शर्मा नियुक्त भएका छन्। मंगलबार बसेको बैंकको सञ्चालक समिति बैठकले बैंकर शर्मालाई आगामी चार वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो। बैंकका निवर्तमान सीईओ अशोक शेरचनले आइतबार राजीनामा दिएपछि त्यसलाई स्वीकृत गर्दै सञ्चालक समितिले शर्मालाई नेतृत्वको जिम्मेवारी सुम्पिएको हो। बैंकिङ क्षेत्रमा करिब २५ वर्षको अनुभव बोकेका शर्मा अनुभवी र कुशल बैंकरका रूपमा चिनिन्छन्। यसअघि उनी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत रहिसकेका छन् भने त्यसअघि माछापुच्छ्रे बैंकको सीईओको जिम्मेवारी सम्हालेका थिए।

बैंकर शर्मासँग ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक लगायतका बैंक तथा वित्तीय संस्थामा काम गरेको व्यापक अनुभव छ। उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र तथा भौतिकशास्त्रमा स्नातकोत्तर उपाधि हासिल गरेपछि सन् १९९७ मा नेपाल एसबीआई बैंकबाट आफ्नो बैंकिङ करियर सुरु गरेका थिए। सात वर्षसम्म एसबीआई बैंकमा कार्यरत रहेपछि उनले सन् २००५ मा नेदरल्याण्डको मास्ट्रिक्ट स्कूल अफ म्यानेजमेन्टबाट एमबीए उपाधि प्राप्त गरेका हुन्। अर्थशास्त्र तथा एमबीए इन फाइनान्समा स्वर्ण पदक विजेता समेत रहेका शर्मा अब प्रभु बैंकको नेतृत्व सम्हाल्दै बैंकको रणनीतिक दिशानिर्देशन र व्यवस्थापनको जिम्मेवारीमा रहनेछन्।

प्रतिक्रिया