१६ मंसिर, काठमाडौं । डाविड मालानको उत्कृष्ट ब्याटिङमा चितवन राइनोजले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई १७७ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर १७६ रन बनाएको हो। चितवनका लागि ओपनर डाविड मालानले सर्वाधिक ८० रन बनाए भने अर्जुन साउदले ५२ रन जोडे। कप्तान कुशल मल्लले अविजित ३० रन योगदान गरे।
चितवनका लागि मालान र अर्जुन साउदले पहिलो विकेटका लागि ११२ रनको साझेदारी गर्दै सानदार सुरुवात दिलाएका थिए। आज नियमित ओपनर दीपक बोहरालाई ड्रप गर्दै अर्जुन साउदलाई डाविड मालानसँग ओपनिङ गराइएको थियो, जुन सफल रह्यो। मालान र अर्जुनले पहिलो विकेटका लागि शतकिय साझेदारी गर्दै दुवैले अर्धशतक प्रहार गरे। यस सिजन यो चौथो शतकिय साझेदारी हो भने पहिलो विकेटका लागि दोस्रो शतकिय साझेदारी पनि हो। साथै, यो पहिलो विकेटका लागि भएको सर्वाधिक साझेदारी हो। यसअघि सुदूरपश्चिमका विनोद भण्डारी र जोश ब्राउनले पोखरा एभेन्जर्सविरुद्ध पहिलो विकेटका लागि १०८ रनको साझेदारी गरेका थिए।
ओपनिङ जोडीले उत्कृष्ट सुरुवात दिलाए पनि त्यसपछिका ब्याटर अर्को छेउबाट आउट भए। मालानले १९औं ओभरमा ५४ बल खेल्दै ४ चौका र ५ छक्कासहित ८० रन बनाएका थिए। जनकपुरका माज सदाकतले मालानलाई १९औं ओभरको दोस्रो बलमा एलबीडब्लु धरापमा पारेका थिए। यसैगरी, पहिलो पटक ओपनिङ गरेका अर्जुन साउदले ३९ बल खेल्दै ४ चौका र ३ छक्का मदतमा ५२ रन बनाए। उनलाई निकोल लफ्टी इटनले सञ्जय कृष्णमुर्तीबाट क्याचआउट गराएका थिए। १४औं ओभरको चौथो बलमा ५२ रन हुँदा अर्जुनको क्याच आदित्य महताले छाडेका थिए, तर लगत्तै अर्को बलमा कृष्णमुर्तीले क्याच गर्दै आउट गरे।
तेस्रो क्रममा ब्याटिङमा आएका सैफ जैब ५ बलमा ७ रन जोडेर १५औं ओभरमा आउट भए भने यस सिजन उत्कृष्ट प्रदर्शन गरिरहेका रबि बोपारा पनि ५ बलमा ३ रन बनाउँदै आउट भए। लगातार विकेट जाने क्रममा एक छेउ सम्हालेका मालान पनि १९औं ओभरमा आउट भएका थिए। कप्तान कुशल मल्लले अन्तिम ओभरमा दुई छक्का र एक चौकासहित १८ रन जोड्दै अविजित ३० रन पुर्याए। जनकपुरका लागि माज सदाकत, अनिल शाह, रुपेश सिंह र लफ्टी इटनले समान १–१ विकेट लिए।