काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव देखिएको छ, जसका कारण देशभर मौसम बदली भएको छ। मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा बादल लागेको अवस्था रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात भइरहेको छ।
आज दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ।
त्यस्तै, राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी प्रदेशसहित अन्य हिमाली क्षेत्रमा थोरै स्थानमा र पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।