सेयर बजार ओरालो, नेप्से १३.८८ अंकले घटेर २५८१ मा सीमित

nepaltext.com

७ पुस, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से १३.८८ अंकले घट्दै २५८१ अंकमा झरेको छ । दिनभरजसो बजार ओरालो लाग्दा कारोबार रकममा पनि कमी आएको छ । अघिल्लो दिन ४ अर्ब ५२ करोड रुपैयाँको कारोबार भएको बजारमा आज ३ अर्ब ५१ करोड रुपैयाँमा सीमित भयो ।

आजको कारोबारमा जम्मा ५४ कम्पनीको सेयर मूल्य बढेको छ भने २ सय कम्पनीको घटेको छ । पाँच कम्पनीको मूल्य स्थिर रह्यो । व्यापार समूहबाहेक सबै समूहका सूचक घटेका छन् । व्यापार समूहको सूचक भने ०.५७ प्रतिशतले घटेको छ । जीवन बीमा समूह १.०१ प्रतिशत र होटल तथा पर्यटन समूह १.२६ प्रतिशतले घटेका छन् ।

त्यस्तै बैंकिङ समूह ०.३५, विकास बैंक ०.३७, फाइनान्स ०.१५, हाइड्रोपावर ०.६६, लगानी ०.९७, उत्पादन तथा प्रशोधन ०.३२, माइक्रोफाइनान्स ०.४५, निर्जीवन बीमा ०.४५ तथा अन्य समूह ०.६९ प्रतिशतले घटेका छन् । आज एसवाई प्यानल कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सीवाईसी लघुवित्तको ५.९०, पियोर इनर्जीको ५.८७ तथा हिमालयन पावर पार्टनरको ३.५२ प्रतिशतले सेयर मूल्य वृद्धि भएको छ ।

घट्ने कम्पनीतर्फ मानुषी लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ६.८४ प्रतिशतले घटेको छ । त्यसपछि लक्ष्मी लघुवित्त ५.५८, स्वस्तिक लघुवित्त ५.५१ तथा तेह्रथुम पावरको ५.२० प्रतिशतले सेयर मूल्य घटेको छ । कारोबार रकमका आधारमा लुम्बिनी विकास बैंक, सन नेपाल लाइफ इन्स्योरेन्स, मञ्जुश्री फाइनान्स, हिमालयन पावर पार्टनर र सिटिजन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहे ।

प्रतिक्रिया