राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा–५ का उम्मेदवार बालेन शाहले प्रदेश संरचनामा न्यून खर्च रहेको दाबी गरेका छन्। झापा–५ को कमल गाउँपालिकामा आज स्थानीयहरूसँगको संवादका क्रममा उनले मन्त्री र सांसदले लिएको तलबकै कारण देश नडुबेको स्पष्ट पारे। प्रदेश संरचना खारेज गरे शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा बजेट पर्याप्त हुने स्थानीयको सुझावको जवाफ दिँदै शाहले भने, ‘प्रदेश संरचनामा न्यून खर्च छ, तलबमा जाने न्यून खर्च हो त्यो । मन्त्री र सांसदले खाएको तलबले देश डुबेको होइन ।’ संवादका क्रममा एक स्थानीयले आफू २० वर्ष खाडी मुलुकमा बसेर फर्किए पनि नेपालमा लगानी गर्न पैसा नबचेको गुनासो सुनाउँदै शिक्षा र स्वास्थ्य पूर्ण रूपमा नि:शुल्क गर्न नसके पनि सहुलियतपूर्ण बनाउन सकिने कि नसकिने प्रश्न गरेका थिए। त्यसको जवाफमा शाहले विपन्न वर्गका विद्यार्थीलाई लक्षित गरी शिक्षामा सहयोग हुँदै आएको उल्लेख गरे। उनले भने, ‘शिक्षा नि:शुल्क गर्ने भनेर संविधानमा त लेखियो तर बजेट छैन । खल्तीमा पैसा नहुनेले पनि शिक्षा र स्वास्थ्य पाउनुपर्यो, खल्तीमा पैसा हुनेले व्यापार गर्न पाउनुपर्यो ।’