२२ पुस, काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से ९.९३ अंकले बढेर २६४९ अंकमा पुगेको छ। आजको बजार केही उतारचढावमा रह्यो। कारोबार सुरु भएदेखि नै नेप्से बढेको देखिएको थियो र ११:५७ बजे २६६२ अंकसम्म पुगेको भए पनि त्यसपछि दिनभर सो स्तरभन्दा माथि जान सकेन। कारोबार रकम पनि बढेको छ; अघिल्लो दिन ६ अर्ब ४७ करोड रुपैयाँ रहेको कारोबार आज ७ अर्ब १२ करोड रुपैयाँ पुगेको छ, जुन करिब एक महिनायताको उच्च स्तर हो। कुल १४८ कम्पनीको मूल्य बढ्दा १०३ कम्पनीको मूल्य घटेको र ८ कम्पनीको मूल्य स्थिर रहेको छ।
आज फाइनान्स समूहमा सबैभन्दा बढी आकर्षण देखियो र यस समूहको परिसूचक २.८७ प्रतिशतले बढेको छ। हिजो उत्पादन तथा प्रशोधन समूह सबैभन्दा बढी ३ प्रतिशतले बढेको थियो, तर आज त्यस समूह ०.५१ प्रतिशतले घटेको छ। यसैगरी होटल तथा पर्यटन समूह ०.२३ प्रतिशतले घट्दा बैंकिङ ०.४३, विकास बैंक ०.७९, हाइड्रोपावर ०.१३, लगानी ०.३२, जीवन बीमा ०.०४, माइक्रोफाइनान्स ०.८४, निर्जीवन बीमा ०.१२, अन्य ०.७७ र व्यापार समूह ०.५४ प्रतिशतले बढेका छन्।
विशेषगरी केही कम्पनीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। जीवन विकास लघुवित्तको मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै थ्रीस्टार हाइड्रोपावर ९.५४, जानाकी फाइनान्स ५.८३, गुडविल फाइनान्स ५.४६ र एसवाई प्यानल ५.४३ प्रतिशतले बढेका छन्। मूल्य घटेका कम्पनीमध्ये रुरु जलविद्युत सबैभन्दा धेरै ८.४१ प्रतिशतले घटेको छ। ट्रेड टावर ६.२६, सान्भी इनर्जी ५.६१, बन्दीपुर केबुलकार ५.४२ र श्रीनगर एग्रिटेक कम्पनी ५.१६ प्रतिशतले घटेका छन्।
आज धेरै कारोबार भएका कम्पनीहरूमा एसवाई प्यानल, बुटवल पावर, शिवम् सिमेन्ट, बन्दीपुर केबुलकार र मञ्जुश्री फाइनान्स प्रमुख रहेका छन्।