कोटेश्वरबाट नक्कली राइफल र पेस्तोलसहित दुई जना पक्राउ

nepaltext.com

काठमाडौंको कोटेश्वर क्षेत्रबाट नक्कली हतियारसहित दुई जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–३२ कोटेश्वरबाट प्रहरीले ३०३ राइफल र कटुवा पेस्तोलजस्ता देखिने डमी हतियारसहित दुई जनालाई नियन्त्रणमा लिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले झापा घर भएका २८ वर्षीय किरण घिमिरे र अछामका कुमार लोहारलाई पक्राउ गरेको हो । उनीहरूबाट ३०३ राइफल जस्तो देखिने एउटा डमी, कटुवा पेस्तोल जस्ता देखिने दुईवटा डमी हतियार, खुकुरीजस्तै फलामको एउटा हतियार तथा एक थान मोटरसाइकल बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

सिसिटिभी फुटेजको आधारमा अनुसन्धान गर्दा बागमती प्रदेश ०२–०१२ प ५८५२ नम्बरको मोटरसाइकल किरण घिमिरेको नाममा दर्ता रहेको खुलेको थियो । उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा काठमाडौं महानगरपालिका वडा नम्बर ३२ स्थित सांस्कृतिक नृत्य कला केन्द्रमा नक्कली हतियार लुकाएर राखिएको पत्ता लागेको प्रहरीले जनाएको छ । घटनामा संलग्न अन्य व्यक्ति तथा हतियार प्रयोगको उद्देश्यबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया