काठमाडौं, २७ माघ । ६० लाख रुपैयाँ लुटपाटको आरोपमा एक प्रहरी हवल्दारसहित चार जनालाई पक्राउ गरिएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको एसएसपी सन्तोष खड्काले बताए। पक्राउ पर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी हवल्दार कर्णबहादुर सुनार पनि रहेका छन्। एसएसपी खड्काका अनुसार, ‘प्रहरी हवल्दारसहित चार जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएका छौं।’ प्रहरीका अनुसार, आरोपितहरूले ‘सस्तोदरमा सुन दिन्छौं’ भनी रकम लिने प्रलोभन देखाएर ६० लाख रुपैयाँ लुटपाट गरेका हुन्। सुन किन्न भनेर आएका व्यक्तिबाट रकम लिएर सीआईबीको प्रहरी भएको नाटक गरी रकम हरण गरिएको थियो। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
२८ माघ २०८२, मङ्गलबार ०२:२९ मा प्रकाशित