नेप्से दोहोरो अंकले घट्यो, १७.५३ अंकले झर्दै २७१४ मा सीमित

nepaltext.com

१५ माघ, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । बुधबार ५ अंकले बढेको बजार सूचक बिहीबार १७.५३ अंकले घट्दै २७३१.५९ बाट २७१४.०५ बिन्दुमा झरेको हो । कारोबार भएका ३२० कम्पनीमध्ये १ सय ७० कम्पनीको सेयर मूल्य घट्दा समग्र बजार सूचकमा नकारात्मक असर देखिएको छ भने ८५ कम्पनीको सेयर मूल्य बढेको र ७ कम्पनीको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ । यस दिन सेन्सेटिभ इन्डेक्स पनि १.५६ अंकले घटेको छ ।

सेयर मूल्य घटे पनि कारोबार रकममा भने उल्लेख्य सुधार आएको छ । बुधबार ११ अर्ब रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार ३ करोड ५४ लाख ७७ हजार कित्ता सेयर किनबेच हुँदै कुल कारोबार १४ अर्ब ५६ करोड रुपैयाँ पुगेको नेप्सेको तथ्याङ्क छ । लगानीकर्ताहरूले आगामी २१ फागुनको निर्वाचनका लागि खर्चको जोहो गर्न केहीले सेयर मूल्य घट्दासमेत बिक्री गरेको अनुमान गरेका छन् । तर, उच्च कारोबार रकमका कारण बजारमा नयाँ तथा पर्खाइमा रहेका लगानीकर्ता पुनः प्रवेश गर्ने आशा भने कायमै रहेको देखिन्छ ।

समूहगत परिसूचकमध्ये बैंकिङ ६.५७, विकास बैंक १३१.८१, वित्त ४५.८३, होटल ९८.९४, जीवन बीमा ८४.०८, उत्पादनमूलक २००.७१, लघुवित्त ३०.२७, निर्जीवन बीमा ७६.८३, अन्य २७.४० र व्यापार ६.७१ अंकले घटेका छन् । यद्यपि जलविद्युत् १३.७७, लगानी ०.०५ र सामूहिक लगानी कोष ०.०७ अंकले बढे पनि ती वृद्धिले समग्र बजार सूचकलाई उकास्न सकेन । यस दिन हिमालय दोलखा हाइड्रोपावर र शिवश्री हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेर लगानीकर्ताको ध्यान तानेको छ ।

प्रतिक्रिया