कांग्रेस महाधिवेशन कार्यतालिका सर्वसम्मत, गगन थापाको अतिरिक्त प्रस्तावले बढायो चासो

nepaltext.com

१६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार महाधिवेशनको कार्यतालिका प्रस्तुत गरिसकेपछि महामन्त्री गगन थापाले आफ्नो अतिरिक्त प्रस्तावबारे केन्द्रीय समितिमा धारणा राख्न चाहेका थिए। कार्यवाहक सभापतिले भने महामन्त्री थापालाई बोल्नुभन्दा अघि लिखित प्रस्ताव दर्ता गर्न अनुरोध गरे। महाधिवेशनको तालिका र समय ग्यापबारे महामन्त्रीनिकट केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नमा उनले आफ्नो धारणा राख्न खोजेका भए पनि कार्यवाहक सभापतिले बहस दोहोरिन सक्ने भन्दै लिखित रूपमा प्रस्तुत गर्न आग्रह गरेपछि थापाले अतिरिक्त प्रस्ताव लिखित रूपमा पेश गरे। त्यसपछि उनको प्रस्ताव के थियो भन्ने जिज्ञासा थप बढेको थियो। एक केन्द्रीय सदस्यका अनुसार, ‘नियमित महाधिवेशन जुनसुकै हालतमा हुनुपर्‍यो । कुनै कारणले नियमित महाधिवेशन नहुने भयो भने स्वत: विशेष महाधिवेशन हुनेछ’ भन्ने मुख्य विषयवस्तु नै अतिरिक्त प्रस्तावको सार हो ।’ कार्यतालिका बमोजिम १५ औं महाधिवेशन नगर्ने संकेत देखिए विशेष महाधिवेशनमा जाने प्रक्रिया सुरु गर्ने संस्थापनइतर पक्षले स्पष्ट गरिसकेको छ।

यसैबीच, सभापति शेरबहादुर देउवानिकट शीर्ष तहका नेताहरू विशेष महाधिवेशनसम्बन्धी हस्ताक्षर फिर्ता गरेर मात्र नियमित महाधिवेशनको कार्यतालिका ल्याउनुपर्ने पक्षमा थिए। देउवा निवासमा बसेको शीर्ष नेताको बैठकमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले हस्ताक्षर फिर्ता लिन नसकिने अडान लिएपछि देउवाले यथास्थितिमै नियमित महाधिवेशनको कार्यतालिका ल्याउन निर्देशन दिए। सभापति देउवाले नै कार्यतालिकालाई समर्थन गरेपछि चुनावअघि महाधिवेशन गर्न हुँदैन भन्ने अडानमा रहेका पूर्वपदाधिकारी विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौला पनि आफ्नो पुरानो धारणा छाडेर पछि हटे। यसअनुसार पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने गरी सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा कार्यवाहक सभापति खड्काले प्रस्तावित कार्यतालिका पेश गरे, जसलाई बैठकले सर्वसम्मत रूपमा पारित गरिसकेको छ।

प्रतिक्रिया