रास्वपा सभापति लामिछानेलाई भेटेर इप्पानले राख्यो ऊर्जा क्षेत्रका ७ माग

श्याम खतिवडा

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसमक्ष ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने माग राखेको छ।

इप्पान अध्यक्ष मोहनकुमार डाँगीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सभापति लामिछानेलाई भेटेर ऊर्जा क्षेत्रमा निजी क्षेत्रको लगानी विस्तार, नीतिगत स्थायित्व, विद्युत् व्यापार तथा प्रसारण पूर्वाधारमा निजी क्षेत्रको सहभागितालगायत विषयमा ध्यानाकर्षण गराएको हो।

प्रतिनिधिमण्डलले ऊर्जा क्षेत्रलाई मुलुकको आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा विकास गर्न निजी क्षेत्रलाई राज्यको सहयात्री तथा पूर्ण साझेदारका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएको छ। इप्पानले पछिल्लो समय विद्युत् व्यापार र प्रसारण लाइन निर्माणमा निजी क्षेत्रको सहभागितालाई अपरिहार्य विषयका रूपमा उठाउँदै आएको छ।

भेटका क्रममा इप्पानले निजी क्षेत्रलाई ऊर्जा क्षेत्रको पूर्ण साझेदार बनाउने गरी नयाँ विद्युत् विधेयक निर्माण गर्नुपर्ने माग प्रमुख रूपमा अघि सारेको छ। त्यस्तै, विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्दै उत्पादित विद्युत्को बजार विस्तारका लागि आवश्यक कानुनी र नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिइएको छ।

इप्पानले प्रसारण लाइन निर्माणमा समेत निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्नुपर्ने माग गरेको छ। ऊर्जा उत्पादनको क्षमता बढ्दै गए पनि प्रसारण पूर्वाधारको अभावले आयोजनाहरू प्रभावित हुने अवस्था अन्त्य गर्न निजी लगानीमार्फत प्रसारण संरचना विस्तार गर्नुपर्ने उसको धारणा छ।

त्यसैगरी, लामो समयदेखि रोकिएको विद्युत् खरिद सम्झौता (पीपीए) तत्काल खुलाउन इप्पानले माग गरेको छ। संस्थाका अनुसार पीपीए रोकिँदा ठूलो लगानी भएका आयोजनाहरू अगाडि बढ्न नसक्ने र ऊर्जा क्षेत्रमा नयाँ लगानीको वातावरणसमेत प्रभावित हुने अवस्था छ। पछिल्लो समय इप्पानले करिब १६ हजार मेगावाट बराबरका पीपीए रोकिएको विषयलाई प्रमुख मुद्दाका रूपमा उठाउँदै आएको छ।

इप्पान प्रतिनिधिमण्डलले वन, वातावरण तथा जग्गा व्यवस्थापनसँग सम्बन्धित अवरोधहरूको दीर्घकालीन समाधान, जलविद्युत् आयोजनाको शान्ति–सुरक्षा तथा लगानी संरक्षणलाई राष्ट्रिय प्राथमिकता, तथा संघ, प्रदेश र स्थानीय सरकारबीच ऊर्जा विकासका विषयमा रहेको क्षेत्राधिकार स्पष्ट पार्नुपर्ने मागसमेत अघि सारेको छ।

प्रतिनिधिमण्डलले ऊर्जा आयोजनामा लगानी गरेका स्वदेशी तथा विदेशी लगानीकर्तालाई राज्यले विश्वास दिलाउने गरी स्थिर नीति, सहज प्रशासनिक प्रक्रिया र लगानी सुरक्षाको प्रत्याभूति गर्नुपर्नेमा पनि जोड दिएको थियो।

इप्पानले ऊर्जा क्षेत्रको विकासका लागि सरकार, राजनीतिक दल र निजी क्षेत्रबीच साझा दृष्टिकोण आवश्यक रहेको बताउँदै आएको छ। संस्थाको ‘भिजन–२०२९’ मा समेत ऊर्जा विकास, लगानी सुरक्षा र नीतिगत निश्चिततालाई प्राथमिकतामा राखिएको छ।

भेटमा इप्पान अध्यक्ष डाँगीसहितको प्रतिनिधिमण्डलले ऊर्जा क्षेत्रका समस्या समाधानका लागि राजनीतिक नेतृत्वबाट स्पष्ट नीति र आवश्यक कानुनी सुधारको पहल हुनुपर्ने धारणा राखेको थियो। निजी क्षेत्रलाई उत्पादनमा मात्र सीमित नराखी विद्युत् व्यापार, प्रसारण तथा समग्र ऊर्जा बजारमा सहभागी गराउन सके नेपालको ऊर्जा क्षेत्रले आर्थिक विकासमा अझ ठूलो योगदान पुर्‍याउने इप्पानको निष्कर्ष छ।

इप्पानले उठाएका यी माग कार्यान्वयन भए ऊर्जा आयोजनाको विकाससँगै निजी लगानी विस्तार, रोजगारी सिर्जना, विद्युत् बजारको विस्तार र मुलुकको आर्थिक समृद्धिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया