विराटनगर — गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ को निर्वाचनका लागि अनुकूल वातावरण बनाउन सरकार तल्लीन रहेको बताएका छन्।
विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उनले भने, ‘निर्वाचनको कार्यतालिका सार्वजनिक भइसकेको छ । समानुपातिकतर्फको नामावली समेत निर्वाचन आयोगमा पेश भइसकेको छ अब चुनावको वातावरण बन्छ ।’ गृहमन्त्री अर्यालका अनुसार सरकारको मूल ध्येय तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नु हो, न कि सत्तामा टिकिरहनु। उनले स्पष्ट शब्दमा भने, ‘सरकारको ध्यान सत्तामा टिकिरहने नभई निर्वाचनमार्फत निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नेतर्फ केन्द्रित छ ।’ जेन–जी जनआन्दोलनपछिको असहज परिस्थितिलाई सामान्य अवस्थामा फर्काउन र नागरिकलाई सुरक्षाको प्रत्याभूति दिन सरकार सफल भएको दाबी गर्दै उनले देश थप अस्थिरतामा धकेलिन सक्ने जोखिमतर्फ पनि ध्यानाकर्षण गराए।
‘देश थप अस्थिरतातर्फ धकेलिन सक्छ । त्यसैले सुशासन चाहने हो भने आवधिक निर्वाचनको विकल्प छैन । ताजा जनादेश प्राप्त सरकारले मात्र दृढताका साथ काम गर्न सक्छ ।’ भन्दै उनले लोकतान्त्रिक प्रक्रियालाई निरन्तरता दिनु नै स्थायित्व र सुशासनको आधार भएको उल्लेख गरे।