नयाँ अन्तरिम सरकारसँग ऊर्जा क्षेत्रमा सहकार्य गर्न इप्पान तयार

nepaltext.com

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले नयाँ अन्तरिम सरकारसँग ऊर्जा क्षेत्रमा सहकार्य र सहयात्रा गर्ने प्रतिबद्धता जनाएको छ।

जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई ज्ञापन गर्दै इप्पानले पुनर्निर्माण र अर्थतन्त्र सुधार गर्न ऊर्जा क्षेत्रमार्फत महत्वपूर्ण योगदान दिन सकिने उल्लेख गरेको हो।

इप्पानले ऊर्जा क्षेत्रमा लगानी गरिरहेका उद्यमीहरूको लागि प्रधानमन्त्री कार्कीको कार्यकाललाई स्वर्णिम अवसरको रूपमा लिने अपेक्षा व्यक्त गरेको छ।

संस्थाका अध्यक्ष गणेश कार्कीले नयाँ सरकारले लगानीमैत्री वातावरण निर्माणमार्फत निजी क्षेत्रलाई उत्साहित बनाउने विश्वास व्यक्त गरे। उनले भने,
“हामी नयाँ अन्तरिम सरकारले लगानीमैत्री वातावरण बनाउने अपेक्षा गरेका छौं। अहिलेको अवस्थामा देशको पुनर्निर्माणसँगै आर्थिक समृद्धिको यात्रामा बढीभन्दा बढी लगानीमार्फत सरकारसँग सहकार्य र सहयात्रा गर्न तयार छौं।”

यस्तै, अध्यक्ष कार्कीले ऊर्जा विकास र विस्तारमा निजी उद्यमीहरूले भोगिरहेको समस्या र चुनौती समाधानमा सरकार अग्रसर हुने विश्वास पनि व्यक्त गरे। उनले ऊर्जा सुरक्षाका लागि निजी क्षेत्रले निरन्तर योगदान दिइरहेको र आगामी दिनमा अझ ठूलो भूमिकासहित अघि बढ्न इप्पान तयार रहेको बताए।

प्रतिक्रिया