चीनको कम्पनीसँग ५० रुपैयाँका नयाँ नोट छपाइ सम्झौता, लागत करिब १ अर्ब ४२ करोड
nepaltext.com
२८ कार्तिक २०८२, बिहिबार
काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका ४२ करोड थान नयाँ नोट छपाइका लागि चीनको ‘चाइना बैंक नोट प्रिन्टिङ एण्ड मीन्टिङ कर्पोरेसन’सँग सम्झौता गरेको छ । राष्ट्र बैंकका अनुसार उक्त सम्झौता नयाँ नोटको डिजाइन, छपाइ र आपूर्तिलाई सुनिश्चित गर्नका लागि गरिएको हो ।
राष्ट्र बैंकले मिति २०८२ साउन ९ गते नयाँ ५० रुपैयाँका नोट छपाइका लागि अन्तर्राष्ट्रिय स्तरमा बोलपत्र आह्वान गरेको थियो । बोलपत्र प्रक्रियामा सहभागी कम्पनीहरूमध्ये सबैभन्दा कम मूल्य प्रस्ताव गर्ने चाइना बैंक नोट प्रिन्टिङ एण्ड मीन्टिङ कर्पोरेसनलाई छनोट गरी सम्झौता गरिएको राष्ट्र बैंकले जनाएको छ ।
सम्झौताअनुसार यस परियोजनाको कुल मूल्य १ करोड ४ लाख २२ हजार ५३५.२१ अमेरिकी डलर अर्थात् करिब एक अर्ब ४२ करोड रुपैयाँ बराबरको हुनेछ । राष्ट्र बैंकले यो सम्पूर्ण प्रक्रिया सार्वजनिक खरिद ऐन, २०६३ र खरिद निर्देशिका, २०६७ बमोजिम पारदर्शी ढंगले सम्पन्न गरिएको स्पष्ट पारेको छ ।
नयाँ नोट छपाइपश्चात् बजारमा पर्याप्त नोट आपूर्ति हुने र आर्थिक कारोबार अझ सहज हुने राष्ट्र बैंकको अपेक्षा छ । यसले देशभित्र नगद आपूर्तिको दबाब घटाउने र वित्तीय कारोबारमा स्थिरता ल्याउने विश्वास समेत व्यक्त गरिएको छ ।