काठमाडौँ । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले आफ्ना नेताहरूलाई कुनै आयोगको नाममा बयान दिन बोलाएमा एक लाख कार्यकर्ता सिंहदरबार प्रवेश गर्ने चेतावनी दिएका छन्।
नेसनल भोलेन्टियर फोर्स (एनभिएफ) घोषणा सभामा सम्बोधन गर्दै बस्नेतले असंवैधानिक कार्की आयोगले बयानमा बोलाउने भनेर बेलाबेलामा हल्ला फिँजाएको बताए। त्यसो भएमा शुक्रबार भेला भएका भन्दा पाँच दोब्बर मानिस सिंहदरबार प्रवेश गर्ने उनले चेतावनी दिए।
भदौ २४ गतेका प्रदर्शनकारी जस्तो एनभिएफले तोडफोड र आगजनी नगर्ने उनले स्पष्ट पारे।
‘हामी भदौ २४ गतेका अराजकहरू जस्तो सिंहदरबार तोडफोड र आगजनी गर्दैनौं,’ बस्नेतले भने, ‘बरू फूलमाला लगाएर सुशीला कार्कीका मन्त्रीहरूलाई सिंहदरबाट बिदाइ गर्नेछौं। १ लाख जनताको उपस्थितीमा सिंहदरबार भित्रै आमसभा गर्छौं।’
उनले नेपो बेबी भनेर विभिन्न नेताका छोराछोरीलाई आतंकित पारिरहेको बताए। अहिलेको सरकारमा भएका ११ जनाका छोराछोरी विदेशमा बस्ने हुँदा आफूतिर आउन सक्ने आरोपलाई उनले अन्त्य पारेको दाबी पनि गरे।
‘अहिलेका सरकारका प्रधानमन्त्री, मन्त्री र सरकारसम्बद्ध ११ जनाका छोराछोरी विदेशमा बस्छन्,’ बस्नेतले भने, ‘नेपो बेबीका आमाबुवाले शासन चलाएका छन्। यो जायज छैन।’
अध्यक्ष केपी शर्मा ओली पनि उपस्थित रहेको एनभिएफको घोषणा कार्यक्रम अहिले बबरमहलमा भइरहेको छ। पार्टीको नीति, नेतृत्व, प्राकृतिक प्रकोपका बेला राहत तथा उद्धारका लागि यो फोर्स परिचालन हुने बस्नेतले जानकारी दिएका छन्।