सुनसरीमा सिटी सफारी चालकको हत्या प्रकरणमा सुटरसहित ७ जना पक्राउ

nepaltext.com

विराटनगर । सुनसरीको रामधुनी नगरपालिकामा सिटी सफारी चालक दिनेशकुमार चौधरीको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले सुटरसहित सात जनालाई पक्राउ गरेको छ। दशैँपछि भएको यो हत्या प्रकरणमा संलग्न मुख्य योजनाकारदेखि कार्यान्वयनमा सहभागी सबै व्यक्तिहरू नियन्त्रणमा लिइएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्र खड्काले जानकारी दिए।

पक्राउ परेकामध्ये राजेश साह, नन्दकिशोर साह, मोहम्मद इव्राइम मिया, अंकित साह, प्रिन्सकुमार दास, गियास मन्सुरी र मिथलेश यादव रहेका छन्। अनुसन्धान अनुसार पुरानो रिसिवीका कारण राजेशले चौधरीमाथि हमला गराउने योजना बनाएका थिए।

राजेशले आफूलाई चौधरीले तन्त्रमन्त्र गरी बिरामी पारेको दाबी गर्दै घटनाको योजना तयार पारेको प्रहरीलाई बयान दिएका छन्। चौधरीको हत्या गराउन उनले सुटर मोहम्मदलाई ६ लाख ५० हजार रुपैयाँ ‘सुपारी’को प्रस्ताव गरेका थिए, जसका ३ लाख रुपैयाँ अगावै पेश्की पनि दिइएको अनुसन्धानमा खुलेको छ।

प्रतिक्रिया