काठमाडौं । ‘गरिखान देउ’ अभियानका संयोजक मिराज ढुंगानाले देशको समृद्धि र अग्रगामी परिवर्तनका लागि अब क्रान्ति होइन, विकासमुखी राजनीति आवश्यक भएको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित विशेष पत्रकार सम्मेलनमा बोल्दै ढुंगानाले भाद्र २३ र २४ मा भएको ऐतिहासिक विद्रोहमा ७६ जनाको बलिदानबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्न सबै जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याए।
‘देशका लागि लड्न जरुरी छ। अहिले एक चरणको क्रान्ति भइसकेको छ, अब विकासको युग सुरु हुन्छ,’ ढुंगानाले भने, ‘हामी क्रान्तिकारी होइनौं, विकासवादी हौं।’
ढुंगानाले विदेशमा रहेका करिब ८० लाख नेपालीलाई मतदान अधिकार सुनिश्चित गर्नुपर्ने माग पनि दोहोर्याए। उनका अनुसार, रेमिट्यान्स देशको प्रमुख आम्दानी स्रोत भएकाले रगत–पसिना बगाएर विदेशमा बसेका नेपालीलाई मतदान अधिकार नदिनु अन्याय हो।
उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको माग गर्दै उक्त माग पूरा नहुँदासम्म चुनावमा सहभागी नहुने चेतावनी पनि दिए।
‘हाम्रो बटमलाइन प्रत्यक्ष निर्वाचित कार्यकारी हो। त्यो माग सम्बोधन नभएसम्म हामी कुनै पनि चुनावमा जान तयार छैनौं,’ ढुंगानाले स्पष्ट रूपमा भने।
ढुंगानाले अहिलेको राजनीतिक अवस्थालाई ‘भाँडभौलो’ नभई योजनाबद्ध विकासको दिशामा रूपान्तरण गर्नुपर्ने समय आएको उल्लेख गर्दै भने, ‘हामी अराजकता मच्चाउन आएका होइनौं, देशमा ठोस विकास ल्याउन जे गर्नुपर्छ, त्यो गर्न तयार छौं।’