गगन र विश्वप्रकाशको बहिर्गमन संकेतपछि कांग्रेसको चुनावी भविष्यमाथी प्रश्न

nepaltext.com

नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचन नलड्ने स्पष्ट संकेत गरेसँगै पार्टीभित्र मात्र होइन, समग्र राजनीतिक वृत्तमै गहिरो प्रश्न खडा भएको छ, यी दुई अनुहारबिनै कांग्रेस चुनावी मैदानमा कसरी उत्रन्छ जेन–जी आन्दोलनपछि पुराना दलको नेतृत्वप्रति बढ्दो असन्तोष, नयाँ शक्तिहरूबीच सहकार्यको चर्चा र कांग्रेसभित्र नेतृत्व परिवर्तनको माग चर्कँदै जाँदा महामन्त्रीहरूको यो निर्णयले कांग्रेसको भविष्यलाई झन् जटिल बनाइदिएको छ।

पछिल्ला केही मितिहरूका राजनीतिक दृश्यहरूले यो प्रश्नलाई अझ धारिलो बनाएका छन्। ७ पुसमा एमाले अध्यक्ष केपी शर्मा ओलीले महाराजगञ्जमा कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेकै दिन रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबीच करिब ६ घण्टा लामो छलफल भएको थियो। त्यसको तीन दिनपछि, १० पुसमा, बालेनले रविसहित विभिन्न जेन–जी समूहका नेताहरूसँग भेट्दा कांग्रेसका दुई महामन्त्रीले चुनाव नलड्ने संकेत दिएका थिए। नयाँ पुस्ताका मतदाताहरू पुराना दलहरूमाथि प्रश्न गर्दै अघि बढिरहेका बेला कांग्रेस र एमाले दुवैलाई नेतृत्व नवीकरण गरेर आशा जगाउने चुनौती थपिएको छ।     एमालेले भने एघारौँ महाधिवेशनबाट केपी ओलीलाई फेरि अध्यक्षमा दोहोर्‍याएको छ। तर ओलीले जेन–जीको भावनालाई समेट्दै पार्टी सुधारतर्फ उन्मुख हुनुभन्दा आन्दोलनमा होमिएकाहरूमाथि कटाक्ष र सरकारविरोधी भाषणमै धेरै समय खर्च गरिरहेको आलोचना भइरहेको छ। कांग्रेसभित्र पनि अवस्था सहज छैन। जेन–जी आन्दोलनका क्रममा घाइते भएका सभापति देउवा उपचारका लागि देशबाहिर रहँदा पूर्णबहादुर खड्कालाई कार्यवाहक दिइएको थियो। देउवा फर्किएपछि विशेष कि नियमित महाधिवेशन भन्ने विवादले केन्द्रीय समिति बैठक लामो समयसम्म अल्झियो। अन्ततः देउवा स्वयं सक्रिय भएपछि ४५ दिनसम्म चलेको बैठक टुंगिएको थियो।   

त्यसपछि केही समय शान्त देखिएका देउवा पछिल्ला दुई हप्तायता फेरि सक्रिय छन्। कार्यवाहक सभापति हुँदाहुँदै पनि राष्ट्रपति रामचन्द्र पौडेलले देउवालाई नै छलफलका लागि शितलनिवास बोलाएका थिए, जहाँ देउवा, ओली, प्रचण्ड र प्रधानमन्त्री सुशीला कार्की सहभागी थिए। यसले पनि पार्टीभित्र वास्तविक शक्ति कहाँ केन्द्रित छ भन्ने सन्देश दिएको छ।

कांग्रेसभित्र जेन–जी आन्दोलनपछि आत्मालोचना गर्दै सार्वजनिक रूपमा माफी माग्ने र पार्टी सुधारको कुरा उठाउने पहिलो नेता गगन थापा नै हुन्। उनीसँगै विश्वप्रकाश शर्माले पनि लामो समयदेखि नियमित महाधिवेशन नभए विशेष महाधिवेशन गर्नुपर्ने माग उठाउँदै आएका थिए। उनीहरू निकट नेताहरूको सक्रियतामा विशेष महाधिवेशन मागको पत्र पार्टी कार्यालयमा दर्ता भयो तर कार्यवाहक सभापतिले त्यसलाई बेवास्ता गरे।

कांग्रेसले पुस २६ देखि २८ गतेसम्म १५औँ महाधिवेशन गर्ने निर्णय त गर्‍यो, तर तालिकाबाहेक अन्य कुनै ठोस तयारी नदेखिँदा त्यो सम्भावना झिनो बन्दै गएको छ। यही पृष्ठभूमिमा गगन थापाले पार्टी नेतृत्वमाथि गम्भीर प्रश्न उठाउँदै प्रतिनिधिसभा निर्वाचनअघि नेतृत्व परिवर्तन अनिवार्य भएको बताए। केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उनले स्पष्ट शब्दमा भने—नेतृत्व परिवर्तन नभए आफू चुनाव लड्दिनँ। काठमाडौंसहित विभिन्न जिल्लाबाट एकल उम्मेदवार सिफारिस भएका थापाले पनि चुनाव नलड्ने घोषणा गरेपछि सन्देश अझ स्पष्ट भयो।

गगन मात्र होइन, झापा–१ बाट एकल सिफारिस भएका अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि चुनाव नलड्ने घोषणा गरेका छन्। उनले लगातार तीन पटक उम्मेदवार बनिसकेको र अब नयाँ पुस्तालाई अघि सार्नुपर्ने आवश्यकता रहेको बताए। ‘सासले भ्याएसम्म मन्त्री बन्ने, एक क्षेत्रमा हारे अर्कोमा उम्मेदवार बन्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ,’ शर्माको भनाइले कांग्रेसको पुरानो राजनीतिक संस्कृतिमाथि नै प्रश्न उठाएको छ। उनले आफू चुनाव नलडे पनि देशव्यापी रूपमा पार्टीका उम्मेदवारहरूको समर्थनमा सक्रिय रहने बताएका छन्।

यहीबीच बालेन, रवि, कुलमान र जेन–जी समूहबीच सहकार्यको चर्चा तीव्र बन्दै गएको छ। नयाँ शक्तिहरू संगठित हुने संकेत दिइरहेका बेला कांग्रेसले आफ्ना प्रभावशाली ‘स्टार क्याम्पेनर’हरूलाई सन्तुष्ट पार्ने वा पार्टी पुनर्गठनको स्पष्ट संकेत दिन सकेको छैन। विगतका चुनावमा संस्थापन पक्षका उम्मेदवारलाई जिताउनसमेत गगन र विश्वप्रकाशको भूमिका निर्णायक हुने गरेको थियो।

नेतृत्व परिवर्तनको सट्टा कांग्रेस ओलीसँगै प्रतिनिधिसभा पुनःस्थापनाको मुद्दामा अग्रसर देखिएको छ। देउवाकै निर्देशनमा विघटित प्रतिनिधिसभाका पूर्वप्रमुख सचेतक श्यामकुमार घिमिरेले रिट दायर गरेपछि पूरक रिट पनि दर्ता भइसकेको छ र सर्वोच्च अदालतले प्रारम्भिक सुनुवाइ गरिसकेको छ। एमालेले पनि यसअघि नै यस्तै रिट दायर गरिसकेको अवस्थामा अदालतले अब सबै रिटलाई एकैसाथ सुनुवाइ गर्ने तयारी गरेको छ।

तर राजनीतिक सवाल यहीं अडिएको छ, पछिल्लो चुनावमा पहिलो दल बनेको नेपाली कांग्रेस आज आफ्नै युवा प्रतिनिधि मानिने महामन्त्रीहरूबिनै चुनावमा जाने अवस्थामा पुगेको छ। नेतृत्व नबदलिने संकेतबीच गगन र विश्वप्रकाशजस्ता अनुहारहरू बाहिरिँदा कांग्रेसले मतदातालाई के नयाँ आशा दिन सक्छ रु यही प्रश्नले अहिले कांग्रेसलाई सबैभन्दा ठूलो राजनीतिक परीक्षामा उभ्याइदिएको छ।

प्रतिक्रिया