केन्द्रको मापदण्ड नमानेपछि कांग्रेसको मातहतलाई कडा निर्देश

nepaltext.com

२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा तथा राष्ट्रियसभा निर्वाचनका लागि उमेदवार सिफारिस गर्दा अघिल्लो परिपत्रमै तोकिएका मापदण्ड र संख्यालाई कडाइका साथ पालना गर्न मातहतका संरचनालाई निर्देशन दिएको छ। प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले तोकिएको मापदण्डविपरीत नाम सिफारिस गर्न थालेपछि बिहीबार कांग्रेसले पुनः परिपत्र जारी गर्दै पार्टी विधान र तोकिएको संख्याभित्रै रहेर सिफारिस गर्न ध्यानाकर्षण गराएको हो। मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी परिपत्रमा, ‘तोकिएको मापदण्ड र तोकिएको संख्यामा पार्टीको परिपत्र र नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम उम्मेदवारको सिफारिस गर्नुहुन पुनः गम्भीर ध्यानाकर्षण गराइन्छ,’ उल्लेख छ।

कांग्रेसले यसअघि १५ र १७ मंसिरमा परिपत्र जारी गरी प्रतिनिधिसभाका प्रत्यक्ष र समानुपातिक दुवैतर्फका लागि तथा राष्ट्रियसभाका लागि आवश्यक मापदण्ड तोकेको थियो। त्यहीअनुसार प्रत्यक्षतर्फ पार्टी विधानका धारा ३०, ३३(२) र ६९ बमोजिम योग्यता पुगेकामध्येबाट बढीमा एक महिलासहित तीन जनाको नाम सिफारिस गर्न भनिएको थियो। समानुपातिकतर्फ समावेशी सिद्धान्तलाई ध्यानमा राख्दै कम्तिमा एक महिलासहित बढीमा दुई जनाको नाम सिफारिस गर्ने व्यवस्था राखिएको थियो। राष्ट्रियसभा सदस्यताका लागि भने जिल्ला समितिबाट योग्यता पुगेका सम्भावित नामहरू पठाई, एक सिटका लागि तीन नाम सिफारिस गर्ने र सहमति नजुटेमा बहुमतबाट निर्णय गर्न उल्लेख गरिएको थियो।

तर हाल क्षेत्रीय र जिल्ला कार्यसमितिहरूले केन्द्रले निर्धारण गरेको उक्त मापदण्डअनुसार सिफारिस नगरेको भन्दै कांग्रेसले निर्देशन कडाइपूर्वक दोहोर्याएको छ।

प्रतिक्रिया