उखु किसानको सधैँको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

nepaltext

सर्लाही । उखु बिक्री गरेको छ महिना बितिसक्दा पनि भुक्तानी नपाएपछि सर्लाहीका किसान समस्यामा परेका छन्। धन्कौल गाउँपालिका–२ मा सञ्चालित अन्नपूर्ण चिनी उद्योगले गत याममा खरिद गरेको उखुको ठूलो रकम अझै भुक्तानी गर्न बाँकी रहेको किसानले बताएका छन्।

धन्कौल गाउँपालिका–३ का कैलाश पासवानले उद्योगलाई बिक्री गरेको ३०० क्विन्टल उखुको आंशिक रकम मात्र पाएको बताए। ५० कट्ठामा उखुखेती गरेका उनले समयमै भुक्तानी नपाउँदा खेत ठेक्काको रकम बुझाउनसमेत समस्या भएको बताए। घरखर्च, बालबालिकाको शिक्षादीक्षा, चाडपर्व तथा अन्य आवश्यकताका लागि उखु बिक्रीबाट प्राप्त रकममा निर्भर हुनुपर्ने उनको भनाइ छ।

छोरीको विवाहका क्रममा खर्च जुटाउनसमेत उद्योगले भुक्तानी नदिएपछि साहुमहाजनसँग सयकडा तीन ब्याजमा ऋण लिनुपरेको पासवानले बताए। उनका अनुसार उद्योगबाट अझै ५६ हजार रुपैयाँभन्दा बढी लिन बाँकी छ।

भुक्तानीमा हुने ढिलाइका कारण किसान उखुखेतीप्रति नै निराश बन्दै गएको उनले बताए। यसपटक उद्योगको भुक्तानीमा समस्या हुने आशंकामा आफूले ४०० क्विन्टल उखु बिचौलियामार्फत नगदमै बिक्री गरेको उनको भनाइ छ। बिचौलियाले उद्योगको मूल्यभन्दा प्रतिक्विन्टल ३५ देखि ४० रुपैयाँ कममा उखु खरिद गरी आफ्नो नाममा उद्योगलाई बिक्री गर्ने गरेका छन्। यसबाट किसानले पाउने अनुदानसमेत प्रभावित हुने गरेको उनले बताए।

धन्कौल–२ का पाँचु सहनीको समस्या अझ पुरानो छ। उनले २०७४ सालमा अन्नपूर्ण चिनी उद्योगलाई बिक्री गरेको उखुको केही रकम अझै पाएका छैनन्। उद्योग धरासायी भएपछि पुरानो सञ्चालकले भुक्तानी गर्ने आश्वासन दिए पनि पछि विवरण नपाइएको भन्दै रकम नदिएको उनको गुनासो छ।

त्यसपछि सहनीले रौतहट तथा सर्लाहीको हरिवनस्थित इन्दुशङ्कर चिनी उद्योगमा उखु बिक्री गर्दै आएका थिए। तर, यस वर्ष अन्नपूर्ण उद्योगले आफ्नो मिलगेट क्षेत्र तोकेर अन्यत्र काँटा नराख्ने सहमति गरेपछि बाध्य भएर अन्नपूर्णलाई नै उखु बिक्री गर्नुपरेको उनले बताए। यसपटक बिक्री गरेको करिब ५०० क्विन्टल उखुको रकमसमेत बाँकी रहेको उनको भनाइ छ।

हरिवनस्थित उद्योगले उखु बिक्री गरेको करिब १५ दिनमै भुक्तानी गर्ने गरेको भए पनि अन्नपूर्णले लामो समयसम्म पैसा नदिँदा किसानलाई समस्या भएको सहनीले बताए।

अन्नपूर्ण चिनी उद्योगले सिजन २०८२/८३ मा तीन हजार १८६ किसानबाट नौ लाख ९३ हजार ७५२ दशमलव ६७ क्विन्टल उखु खरिद गरी क्रसिङ गरेको थियो। उखु खरिदबापत किसानलाई तिर्नुपर्ने कुल ६१ करोड ६१ लाख २७ हजार ६५५ रुपैयाँमध्ये करिब २२ करोड रुपैयाँ अझै भुक्तानी हुन बाँकी रहेको देखिएको छ।

किसानको उजुरीपछि सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेको अध्यक्षतामा गठित छानबिन समितिले पनि उद्योगबाट करिब २२ करोड रुपैयाँ किसानलाई भुक्तानी गर्न बाँकी रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो।

यता उद्योग प्रशासनले भने किसानलाई दैनिक रूपमा भुक्तानी गरिरहेको दाबी गरेको छ। उद्योगका प्रशासकीय प्रमुख रमेश श्रीवास्तवले भुक्तानी बाँकी रहेको स्वीकार गर्दै कात्तिक मसान्तसम्म सबै रकम चुक्ता गर्ने योजना रहेको बताए। दसैँअघि नै किसानको खातामा रकम पुर्‍याउने गरी काम भइरहेको उनको भनाइ छ। तर, हालसम्म कति रकम भुक्तानी भइसकेको भन्ने यकिन तथ्याङ्क भने आफूहरूसँग नरहेको उनले बताए।

भुक्तानीको विषयमा किसानको उजुरी परेपछि उद्योगका सञ्चालक शैलेन्द्र गुप्तालाई प्रहरीले पक्राउसमेत गरेको थियो। जिल्ला अदालत सर्लाहीको पक्राउ पुर्जीका आधारमा पक्राउ परेका गुप्ता उद्योगमा मौज्दात करिब ११ करोड रुपैयाँ बराबरको चिनी बिक्री गरी अपुग रकम बैंकबाट ऋण लिएर दसैँसम्म किसानको खातामा जम्मा गर्ने प्रतिबद्धतापछि रिहा भएका थिए।

नेपाल उखु उत्पादक किसान महासङ्घका अध्यक्ष श्यामबाबु रायका अनुसार उद्योगले मौज्दात चिनी बिक्री गरेर तथा बैंकबाट ऋण लिएर किसानको रकम भुक्तानी गर्ने प्रतिबद्धता जनाएको थियो। सोही प्रतिबद्धताका आधारमा किसानको तर्फबाट घटनामा सहजीकरण गरिएको उनले बताए।

तर, स्थानीय किसानले उद्योगले प्रतिबद्धता पूरा गर्नेमा अझै आशंका व्यक्त गरेका छन्। लामो समयसम्म भुक्तानीका लागि पहल नभएको भन्दै चाडपर्वको समयमा समेत रकम पाउनेमा उनीहरू विश्वस्त हुन सकेका छैनन्।

उखु बिक्री गरेको रकम नपाउँदा दैनिक घरखर्च चलाउन, मलखाद खरिद गर्न तथा मजदुरको ज्याला तिर्नसमेत समस्या भएको किसानको गुनासो छ। किसान धीरु बर्माले आफूले रगत पसिना गरेर उत्पादन गरेको उखुको पैसा नपाउँदा बिरामी पर्दासमेत उपचारका लागि ऋण खोज्नुपर्ने अवस्था रहेको बताए।

सर्लाहीको बागमती नगरपालिका–११ का नप्लकण्ठ देवकोटाले किसानलाई समस्यामा पारेर देशको विकास सम्भव नहुने बताए। किसानले उत्पादन गरेको कृषि उपजको सुनिश्चित बजार, समयमै भुक्तानी र उचित मूल्यको दिगो व्यवस्था राज्यले गर्नुपर्ने उनको माग छ।

प्रतिक्रिया