नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुली नगरपालिका–१ केउरेनीमा विद्यालय हाताभित्रै बस घुमाउने क्रममा भएको दुर्घटनाले चार वर्षीया बालिकाको ज्यान गएको छ। नेपाल नमुना माध्यमिक विद्यालय केउरेनीको लु १ क ३८१४ नम्बरको बसले ठक्कर दिँदा सोही विद्यालयमा नर्सरी कक्षामा अध्ययनरत बारा जिल्ला कलैया नगरपालिका–६ स्थायी घर भई हाल देवचुली–१४ छत्तिसघरे बसोबास गर्दै आएकी बिबु पासवानकी चार वर्षीया छोरी सुश्माकुमारी पासवान गम्भीर घाइते भएकी थिइन्। घाइते अवस्थामै उनलाई उपचारका लागि देवचुली नगर अस्पताल लगिएको थियो तर चिकित्सकले उपचारका क्रममा मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिएका छन्। दुर्घटनामा संलग्न बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।