जेनजी नाममा अवरोध आउने जहाँ पनि प्रतिरोध गर्ने महेश बस्नेतको चेतावनी

nepaltext.com

५ मंसिर, काठमाडौं । एमाले नेता महेश बस्नेतले जेनजी आन्दोलनको नाममा हुने अवरोधलाई अब प्रतिरोधमार्फत जवाफ दिने चेतावनी दिएका छन्। एमालेले गठन गर्न लागेको युवा दस्ता ‘युथ भोलेन्टियर फोर्स’ घोषणाको अघिल्लो दिन बबरमहलमा आयोजित युवाहरूको प्रदर्शनको नेतृत्व गर्दै उनले पार्टी अब सक्रिय रूपमा मैदानमा उत्रने संकेत दिए।

बस्नेतले वास्तविक जेनजी पुस्ताका माग सम्बोधन गर्न सक्ने पार्टी एमाले नै भएको दाबी गर्दै, जेनजी आन्दोलनका क्रममा घाइते र शहीद बनेकाहरूको न्याय सुनिश्चित गर्न प्रतिनिधिसभा पुनर्स्थापना अपरिहार्य भएको टिप्पणी गरे।

‘जेनजीको नाममा जहाँ अवरोध, त्यहीँ प्रतिरोध हुन्छ,’ उनले भने, ‘हामी जेनजीहरूसँग निरन्तर सम्पर्कमा छौँ, तर उनीहरूको नाम र ब्यानर ओढेर अन्य तत्वहरू सक्रिय छन्।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले आज फोर्सको केन्द्रीय कमाण्ड घोषणा गर्दैछन्। बस्नेतका अनुसार पालिका, वडा र टोल तहसम्म सुरक्षा सुनिश्चित गर्न युथ भोलेन्टियर फोर्स गठन गरिनेछ।

‘हामी विभिन्न पेशागत संघ–संस्थासँग पनि सहकार्य गर्छौँ,’ बस्नेतले थपे, ‘अब राष्ट्रिय सम्पत्ति जलाउने, तोडफोड गर्ने काम हुँदा हामी चुप लागेर हेरेर बस्दैनौँ।’

प्रतिक्रिया