काठमाडौँ । सिन्धुपाल्चोकमा निर्माण सम्पन्न १०२ मेगावाट क्षमताको मध्य भोटेकोसी जलविद्युत् आयोजनाले व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु गरेको छ।
प्रवर्द्धक मध्य भोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडका अनुसार तीनवटै युनिटको सफल परीक्षणपछि आयोजनाले विद्युत् उत्पादनलाई व्यावसायिक रूपमा सञ्चालनमा ल्याएको हो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामगोपाल शिवाकोटीका अनुसार नेपाल विद्युत् प्राधिकरणले असोज २० गतेदेखि नै आयोजनाबाट उत्पादित विद्युत् खरिद गर्न सुरु गरेको छ।
“प्राधिकरणले उत्पादित विद्युतको भुक्तानी सुरु गर्ने जानकारी दिइसकेको छ,” शिवाकोटीले उर्जा सञ्चारसँग बताए।
प्राधिकरणले मध्य भोटेकोसीबाट विद्युत् वर्षायाममा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र सुक्खायाममा ८ रुपैयाँ ४० पैसाका दरमा खरिद गर्नेछ। आयोजनाले पूर्ण क्षमतामा उत्पादन गरेमा दैनिक करिब १ करोड २० लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ।
नेपाल विद्युत् प्राधिकरणको सहायक संस्था चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा निर्माण भएको यो आयोजनामा ३४/३४ मेगावाट क्षमताका तीन युनिट जडान गरिएका छन्।
आयोजनाको निर्माण कार्य २०७० सालमा सुरु भएको हो। प्रारम्भिक लक्ष्यअनुसार २०७३ सालमै निर्माण पूरा गर्ने योजना भए पनि २०७२ सालको भूकम्प, त्यसपछिको नाकाबन्दी, बाढी–पहिरो र अन्य अवरोधहरूका कारण निर्माणमा लामो ढिलाइ भयो।
कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता हुँदा आयोजनाको अनुमानित लागत १२ अर्ब २८ करोड ३३ लाख रुपैयाँ थियो। सो मध्ये ५० प्रतिशत रकम स्वपूँजी (इक्विटी) र बाँकी ५० प्रतिशत ऋणमार्फत जुटाइएको हो।
विविध कारणले निर्माण अवधि लम्बिँदा कुल लागत अझै बढेको कम्पनीले जनाएको छ।