दुई दिनको करेक्सनपछि नेप्सेमा ब्रेक, बुधबार ५.३८ अंकले सुधार

nepaltext.com

१४ माघ, काठमाडौं । सोमबार र मंगलबार लगातार ‘करेक्सन’ देखिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा बुधबार भने त्यो ओरालो यात्राले विश्राम लिएको छ । मंगलबार ४२ दशमलव ५८ अंकले घटेको नेप्से बुधबार ५ दशमलव ३८ अंकले सुधारिँदै २७३१ दशमलव ८९ विन्दुमा पुगेको छ, जुन अघिल्लो दिनको २७२६ दशमलव ५१ विन्दुभन्दा माथि हो । यद्यपि कारोबार रकम भने क्रमशः घट्दो देखिएको छ । सोमबार १६ अर्ब रुपैयाँभन्दा माथि पुगेको कारोबार मंगलबार घटेर करिब १४ अर्बमा सीमित भएको थियो भने बुधबार झनै घट्दै ११ अर्ब ४९ करोड रुपैयाँमा सिमित रह्यो । तर पछिल्ला दिनहरूमा लगातार १० अर्बभन्दा माथिको कारोबार भइरहेकाले बजारमा चुनावी उत्साह र लगानीकर्ताको सक्रियता अझै कायम रहेको संकेत देखिन्छ । बुधबार नेप्सेमा कारोबार भएका ३ सय ३४ कम्पनीमध्ये १ सय ४१ कम्पनीको सेयर मूल्य बढ्यो, १ सय १२ कम्पनीको घट्यो भने ७ कम्पनीको मूल्य स्थिर रह्यो । समूहगत सूचकतर्फ हेर्दा फाइनान्स उपसूचक १ दशमलव २४ प्रतिशत र जलविद्युत् उपसूचक ० दशमलव ९९ प्रतिशतले बढ्दा इन्भेस्टमेन्ट उपसूचक ० दशमलव १६ प्रतिशत र माइक्रोफाइनान्स उपसूचक ० दशमलव १४ प्रतिशतले घटेका छन् । कर्पोरेट डेभलपमेन्ट बैंक र आँखुखोला जलविद्युत् कम्पनीको सेयर मूल्य सर्किट लेभलमा १० प्रतिशतले बढेको छ भने गुडविल फाइनान्स डिबेन्चर २०८३ को मूल्य ८ प्रतिशतले ओरालो लागेको छ । समग्रमा बुधबार ३ सय ३४ कम्पनीका २ करोड ३६ लाख १८ हजार कित्ता सेयर किनबेच हुँदै नेप्सेमा कुल ११ अर्ब ४९ करोड रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया