२६ माघ, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट सोमबार पनि निरन्तर देखिएको छ। आइतबार १०.२४ अंकले घटेको नेप्से सोमबार थप २६.०५ अंकले ओरालो लाग्दै २६७२.३९ अंकमा बन्द भएको हो। सोमबार कारोबार सुरु हुँदा नेप्से २६९८.४५ अंकमा रहेको थियो भने कारोबार अवधिभर निरन्तर घट्दो क्रममा रहँदा अन्तिम समयमा आएर मात्र गिरावटको गति केही सुस्त भएको देखियो।
आगामी २१ फागुनमा तय प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा सेयर बजारमा अपेक्षित उत्साह देखिन सकेको छैन। निर्वाचन अवधिमा बजारमा लगानी बढ्ने अनुमान गरिए पनि चुनाव नजिकिँदै गर्दा बजारमा देखिएको अनिश्चितता र नैराश्यताले आम लगानीकर्ताको मनोबल कमजोर बनेको विश्लेषण गरिएको छ। सोमबार नेप्सेमा कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य घट्दा समग्र बजार सूचक नकारात्मक बनेको हो। यस दिन २ सय १२ कम्पनीको सेयर मूल्य घटेको छ भने ४६ कम्पनीको सेयर मूल्य बढेको छ। खानीखोला र रिडी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने ६ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन।
समूहगत परिसूचकतर्फ हेर्दा पनि सोमबार अधिकांश सूचक ओरालो लागेका छन्। बैंकिङ समूह १०.६ अंकले घट्दा विकास बैंक समूह ७९.०७ र वित्त समूह ५८.१३ अंकले घटेका छन्। यस्तै होटल समूह १०४.२०, जलविद्युत् १९.६१, लगानी ०.९५, जीवन बीमा १२५.४२, उत्पादनमूलक ११४.२०, लघुवित्त ३०.०६, सामूहिक लगानी कोष ०.१०, निर्जीवन बीमा १५९.१७ र अन्य समूह ४६.७५ अंकले घटेका छन्। सोमबार नेप्सेमा कारोबार भएका समूहहरूमध्ये व्यापार समूह मात्र ९.०१ अंकले बढेको देखिएको छ।
कारोबार रकमको हिसाबले सोमबार नेप्सेमा ३ सय २४ कम्पनीको १ लाख २ हजार २ सय ८१ पटकको कारोबारबाट २ करोड ६७ लाख ६६ हजार ३ सय ४७ कित्ता सेयर खरिद–बिक्री भएको छ, जसको कुल कारोबार रकम १० अर्ब ७७ करोड रुपैयाँ पुगेको छ। यो कारोबार रकम आइतबारको तुलनामा केही कम हो, किनकि आइतबार नेप्सेमा ११ अर्ब ५९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।