काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक बन्द सूचीमा नाम समावेश भएपछि उत्पन्न बहस र प्रश्नबीच ट्राभलर सृजना वलीले आफ्नो उम्मेदवारी फिर्ता लिएको स्पष्ट पारेकी छन् । सामाजिक सञ्जालमार्फत लामो स्पष्टीकरण दिँदै वलीले उक्त निर्णय योजनाबद्ध नभई यात्राकै क्रममा गरिएको आकस्मिक निर्णय भएको बताएकी छन् ।
ढोरपाटन, रुकुम पूर्व–पश्चिम, बुर्तिबाङ र चुङ्री बुक्की जस्ता दुर्गम क्षेत्रमा एकल यात्रा गर्दै पर्यटन सम्भावनाको अध्ययन गरिरहेका बेला आफूलाई समानुपातिक सूचीमा राख्ने प्रस्ताव आएको र यात्राकै व्यस्तताका कारण निर्णयका लागि पर्याप्त समय नपाएको उनको भनाइ छ । बन्द सूची सार्वजनिक भएपछि मात्र त्यसको गम्भीरता महसुस भएको उल्लेख गर्दै ‘यो निर्णय अलि हतारमा भएछ’ भन्ने आत्ममन्थनमा पुगेको उनले स्वीकारेकी छन् । सामाजिक सञ्जालमा उठेका प्रश्न, आलोचना र जिज्ञासालाई स्वाभाविक ठान्दै उनले राजनीतिक पृष्ठभूमिसँग जोडिएका टिप्पणीहरूबारे पनि प्रष्ट पार्ने प्रयास गरेकी छन् । जीवनका अधिकांश निर्णय आफूले स्वतन्त्र रूपमा गर्दै आएको र परिवारको नाम प्रयोग गरेर अघि बढ्ने सोच कहिल्यै नराखेको उनको दाबी छ ।
वन विज्ञान अध्ययन, एकल यात्रामार्फत कर्णाली, सुदूरपश्चिम र पहाडी जिल्लाका लुकेका गन्तव्यको प्रवर्द्धन नै आफ्नो मुख्य एजेन्डा रहेको उनले बताएकी छन् । हुम्लाको लिमी उपत्यका, डोल्पाको कागमारा, ढोरपाटनका पाटन, मुन्धुम ट्रेल र सिंजा उपत्यकाजस्ता क्षेत्रमा गरेको लामो यात्रा तथा स्थानीय समुदायसँगको सहकार्यले गाउँमै रोजगारी र आशा सिर्जना गर्ने प्रयास भइरहेको उनको भनाइ छ । ‘म अहिले राजनीतिमा आउँदिनँ, तर यसको अर्थ म राजनीति बुझ्दिनँ वा भिजन छैन भन्ने होइन,’ भन्दै वलीले समानुपातिक सूचीमा बसेर पद ओगट्ने सोच नरहेको र आफ्नो नाम फिर्ता लिइसकेको स्पष्ट पारेकी छन् ।
यात्रामा रहेकाले सार्वजनिक जानकारी दिन ढिलाइ भएको स्वीकार्दै उनले भविष्यमा पनि राजनीति बाहिरै रहेर पर्यटन र ग्रामीण विकासमार्फत नेपालको अर्थतन्त्र सुदृढ बनाउने दिशामा निरन्तर काम गर्ने प्रतिबद्धता जनाएकी छन् ।