रास्वपाकी उम्मेदवार आशिका तामाङसँग माओवादीको नाममा धम्की र ब्ल्याकमेलिङ

श्याम खतिवडा

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेकी आशिका तामाङसँग नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को नाम प्रयोग गर्दै धाकधम्कीका साथ पैसा मागिएको गम्भीर आरोप सार्वजनिक भएको छ। माओवादी पार्टीको लेटरहेड प्रयोग गरी ‘आर्थिक विभाग प्रमुख क. कविर’ को हस्ताक्षरसहित पत्र नै पठाएर आर्थिक सहयोग मागिएको हो। उक्त पत्रमा पार्टी सञ्चालन, सत्ता सुदृढीकरण तथा जनमुक्ति सेना परिचालनका लागि आर्थिक सहयोग आवश्यक रहेको उल्लेख गरिएको छ भने परिवर्तनकारी आन्दोलनका लागि पार्टीले विशेष आर्थिक अभियान सञ्चालन गरिरहेको दाबी गरिएको छ।

१५ माघ मितिमा लेखिएको पत्रमा भनिएको छ, ‘हामी स्पष्ट गर्न चाहन्छौं, नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादी व्यवस्था प्राप्त गर्न महान सशस्त्र जनविद्रोहको माध्यमबाट अगाडी बढिरहेका छौँ । इतिहासले माग गरेको परिवर्तनकारी आन्दोलनका लागि हामीले सञ्चालन गरेको विशेष मार्थिक अभियानलाई आर्थिक, भौतिक र नैतिक रुपमा सहयोग उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछौं । सहयोगको लागि धन्यवाद !’ पत्रमा कति रकम सहयोग गर्नुपर्ने भन्ने स्पष्ट उल्लेख छैन। तर तामाङका अनुसार उनका सचिवालयका व्यक्तिहरूलाई फोन र ह्वाट्सएप म्यासेजमार्फत तत्कालका लागि ५० हजार रुपैयाँ माग गरिएको थियो। पैसा नदिएको खण्डमा आफूलाई असहयोग र अवरोध गर्ने चेतावनीसमेत दिइएको उनले बताइन्।

तामाङको सचिवालयका एक सदस्यका अनुसार सुरुमा फोन गरेर चुनावमा सहयोग गर्ने भनिएको थियो तर पछि क्रमशः पैसा माग्न थालियो र धम्कीको स्तर बढ्दै गयो। उनले भने, ‘सुरूमा सहयोग गर्छौँ भनेँ । बिस्तारै पैसा माग्न थाले । अहिले त पैसा नदिए तपाईँलाई असहयोग गर्छौँ, चुनावै हुन दिन्नौँ भन्ने कुराहरू गरिरहेका छन् । बम पड्काइदिने घुमाउरो धम्की पनि दिएका छन्,’

तामाङलाई पठाइएको इनबक्स म्यासेजमा लेखिएको छ, ‘केन्द्रीय पार्टी जिल्लाबाट ५० हजार रूपैयाँ अपेक्षा गरेको जानकारी गराउँछु ।’ त्यसपछि अहिले पैसा दिन नसकिने जवाफ पठाइएपछि उताबाट आएको सन्देशमा भनिएको छ, ‘कति सकिन्छ सर, सहयोग त गर्नैपर्ने हुन्छ । पार्टीले पठाएको चिठी आशिका दिदीलाई देखाउनुभयो होला । के आयो जवाफ ?’। अर्को सन्देशमा लेखिएको छ, ‘चुनाव लड्ने पैसा छ, सहयोग गर्ने पैसा छैन भन्नु मुर्खता हो । चुनाव जित्ने हो भने सहयोग गर्नु, अन्यथा कुनै सरोकार भएर त्यहाँबाट एमाले पनि जित्न सक्छ । सहयोग गर्नुभयो भने हामी पनि सहयोग गर्ने हो ।’

यसैबीच, ह्वाट्सएपमार्फत पैसाका लागि ब्ल्याकमेलिङ गर्ने व्यक्तिले नेकपा (माओवादी) ले आगामी निर्वाचन बहिष्कार गर्ने, जनमुक्ति सेना पुनर्गठन गरी सशस्त्र जनविद्रोह गर्ने तथा फागुन २०/२१ गते नेपाल बन्द गर्ने उल्लेख गरिएका पर्चा तथा पम्प्लेटहरू समेत पठाएको तामाङ पक्षको दाबी छ। साथै, सशस्त्र युद्ध गर्ने चेतावनी दिइएको एउटा विज्ञप्ति पनि पठाइएको छ। उक्त विज्ञप्ति नेकपा (माओवादी) को लेटरहेडमा भए पनि त्यसमा ‘महासचिव क. गौरव’ को हस्ताक्षर रहेको देखिन्छ। क. गौरव भनेका सीपी गजुरेल हुन्, जो हाल वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव हुन्। पार्टीको नाम र महासचिवको नाममा देखिएको यो विरोधाभासले घटनालाई थप रहस्यमय बनाएको छ।

हाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी) नामको पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वमा छ। उनले चुनावअघि आफू महासचिव रहने गरी यही नाममा पार्टी दर्ता गराएका थिए। त्यसअघि उक्त दलको नाम नेपाल कम्युनिष्ट पार्टी मात्रै थियो।


प्रतिक्रिया