काठमाडौँ । नेपाली कांग्रेसभित्र महाधिवेशनको समयतालिकालाई लिएर बढ्दै गएको रस्साकस्सीबीच संस्थापन समूहका २४ केन्द्रीय सदस्य आइतबार डा. शेखर कोइरालासँग भेटघाटमा पुगेका छन्। बिहान विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा भएको भेटमा उनीहरूले आफ्ना ७ बुँदे मागबारे जानकारी दिँदै समर्थन गर्न आग्रह गरेका थिए।
यी सदस्यहरूले केही दिनअघि पार्टी केन्द्रीय कार्यालयमा दर्ता गराएको ७ बुँदे मागमा मंसिर मसान्तमै १५ औँ महाधिवेशन प्रक्रियाको थालनी गरी सकभर पुस मसान्तभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने अडान समावेश छ। यही मागलाई सम्बोधन गर्न डा. कोइरालासँग सहमति जुटाउने उद्देश्यले भेट भएको सहभागी सदस्य आङ ग्यालु शेर्पाले जानकारी दिए।
भेटमा डा. मिनेन्द्र रिजाल, सहमहामन्त्री बद्री पाण्डे, जीवन परियार, सञ्जय गौतम, डा. गोविन्दराज पोखरेललगायतका नेता पनि उपस्थित थिए। उनीहरूले नियमित महाधिवेशन मंसिरमै सुरु गरेर पुस मसान्तसम्म टुंग्याउनुपर्ने मागमा कोइरालाले समर्थन जनाउनुपर्ने आग्रह दोहोर्याए।
भेटबारे जानकारी दिँदै शेर्पाले भने: “शनिबारको केन्द्रीय कार्यसमिति बैठकले १५ औँ महाधिवेशनसम्बन्धी निर्णय गर्नुपर्ने थियो। किन त्यो प्रस्ताव पेस भएन, मलाई जानकारी भएन।” कोइरालाले भेटमा थप स्पष्ट पार्दै भने: “नियमित महाधिवेशन पुस मसान्तसम्म सम्पन्न हुनुपर्छ भन्ने मेरो अडान यथावत् छ। त्यो निर्णय गराउन म लागिरहेको छु।”
कोइरालाले महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर भेरिफिकेसनमार्फत विशेष महाधिवेशन गर्ने विकल्पले पार्टी फुट्ने जोखिम बढाउने टिप्पणी पनि गरेका थिए। यदि विशेष महाधिवेशन गर्नैपर्ने परिस्थिति आएमा हस्ताक्षर भेरिफिकेसन होइन, केन्द्रीय कार्यसमितिको सर्वसम्मत निर्णयमार्फत गर्नुपर्ने उनले सुझाएका थिए।
२४ केन्द्रीय सदस्यहरूले उनीहरूको मागबारे सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा लगायतका शीर्ष पदाधिकारीलाई पहिल्यै अवगत गराइसकेका छन्।
यता कांग्रेसमा महाधिवेशन फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअघि गर्ने कि पछि गर्ने भन्ने विवाद चुलिएको छ। महामन्त्री गगन थापाले पुस १६–१९ गते महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका छन् भने सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७–३० गते गर्ने सुझाव पेस गरेका छन्। थापाको प्रस्तावलाई इतर समूह र यादवको प्रस्तावलाई संस्थापन समूहले समर्थन गरेसँगै कांग्रेसको महाधिवेशन बहस झनै पेचिलो बन्दै गएको छ।