काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जको परिसूचक नेप्सेमा आज सामान्य सुधार देखिएको छ । लगातार तीन दिनको गिरावटपछि नेप्से ३.२७ अङ्कले बढेर २५८४.४९ विन्दुमा पुगेको हो, जुन अघिल्लो दिनको तुलनामा ०.१२ प्रतिशतले बढी हो । आजको कारोबारमा कुल ३ अर्ब ४२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । ९२ हजार ७४६ पटकको कारोबारमार्फत ३२८ कम्पनीका ७६ लाख ६८ हजार ९१५ कित्ता सेयर खरिदबिक्री भएका छन् ।
आजको बजारमा १३४ कम्पनीको सेयर मूल्य बढेको छ भने ११७ कम्पनीको घटेको छ । बाँकी ८ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । कारोबारमा आएका १३ समूहका सूचकमध्ये ७ समूह बढेका छन् भने ६ समूह घटेका छन् । अन्य समूह सबैभन्दा धेरै १.२८ प्रतिशतले बढ्दा बाँकी सबै समूहमा एक प्रतिशतभन्दा कम उतारचढाव देखिएको छ ।
आज एसवाई प्यानलका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयर मूल्य ७.०१ प्रतिशतले बढेर प्रतिकित्ता ८०६ रुपैयाँ पुगेको छ । त्यस्तै गुराँस लघुवित्तको सेयर मूल्य ६.०१ प्रतिशत र सयपत्री हाइड्रोपावरको ५.९६ प्रतिशतले वृद्धि भएको छ । यसैबीच सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य सर्वाधिक ५.९७ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा पनि एसवाई प्यानल नै शीर्ष स्थानमा रहेको छ । कम्पनीको ३० करोड ९८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने अन्य सबै कम्पनीको कारोबार १० करोड रुपैयाँभन्दा कममै सीमित रहेको छ ।