काँग्रेसको १५ औँ महाधिवेशन तालिका संशोधन, असोज १६–१९ मा गर्ने निर्णय

nepaltext

काठमाडौँ । नेपाली काँग्रेसले आफ्नो १५ औँ महाधिवेशनको कार्यतालिका संशोधन गरेको छ । आज बसेको केन्द्रीय समिति बैठकले नयाँ तालिका स्वीकृत गर्दै वडा अधिवेशन २ भदौबाट सुरु गर्ने निर्णय गरेको हो ।

यसअघि मंगलबारको बैठकमा ६ साउनबाट वडा अधिवेशन सुरु गर्ने प्रस्ताव गरिएको थियो । तर सो प्रस्ताव परिमार्जन गर्दै नयाँ कार्यतालिका ल्याइएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

संशोधित तालिका अनुसार गाउँ तथा नगर अधिवेशन अब ७ भदौमा हुनेछन्, जुन यसअघि १२ साउनका लागि तय गरिएको थियो । त्यस्तै प्रदेशसभा क्षेत्रीय अधिवेशन, पहिले २३ साउनमा गर्ने भनिए पनि अब १७ भदौमा सञ्चालन गरिनेछ ।

क्षेत्रीय अधिवेशन तथा एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन २४ भदौमा गर्ने निर्णय गरिएको छ । यसअघि यी कार्यक्रम ३० साउनका लागि प्रस्तावित थिए । यस्तै एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन २ र ३ असोजमा हुने तय गरिएको छ, जुन पहिले ६ र ७ भदौका लागि प्रस्ताव गरिएको थियो ।

प्रदेश अधिवेशन पनि सरेको छ । अब यी अधिवेशनहरू ७ र ८ असोजमा हुनेछन्, जबकि यसअघि १५ र १६ भदौमा गर्ने योजना थियो ।

नयाँ कार्यतालिका अनुसार नेपाली काँग्रेसको १५ औँ महाधिवेशन १६ देखि १९ असोजसम्म काठमाडौँमा आयोजना गरिनेछ । यसअघि महाधिवेशन २४ देखि २६ भदौसम्म गर्ने प्रस्ताव गरिएको थियो ।

प्रतिक्रिया