विदेश नपठाएपछि पैसा फिर्ता माग्दा दाङका युवक निरज चौधरीको हत्या

nepaltext.com

बर्दिया । बर्दियाको राजापुर नगरपालिका–४ स्थित रेस्टुरेन्टमा आइतबार बिहान गोली प्रहार भएर दाङको तुलसीपुर उपमहानगरपालिका–५ का २८ वर्षीय निरज चौधरीको हत्या भएको छ। प्रहरीका अनुसार गोली प्रहारपछि उनलाई बाँकेको नेपालगञ्जस्थित नरसिंङ होममा पुर्‍याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए।

बर्दिया प्रहरी प्रमुख एसपी सरोज पौडेलका अनुसार चौधरीको गालामा दुई तर्फ चोट लागेको देखिन्छ। गोली प्रहार भए नभएको यकिन पोस्टमार्टमपछि मात्रै पत्ता लाग्ने प्रहरीले बताएको छ। घटनापछि प्रहरी अनुसन्धानमा जुटेको छ र हालसम्म दुई जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ। तर मुख्य अभियुक्त फरार रहेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार ‘हमार थारु घर एण्ड रेस्टुरेन्ट’का संचालक नै मुख्य आरोपी हुन्। प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ कि निरजलाई विदेश पठाइदिने बहानामा पैसा लिएको र त्यसैको माग गर्दा विवाद बढेपछि रेस्टुरेन्टभित्र गोली चलाइएको हो। गोली चलाएपछि रेस्टुरेन्ट सञ्चालकले घाइते निरजलाई उपचारका लागि कसैलाई खबर नदिइ नजिकको जिल्ला अस्पतालको सट्टा बाँकेको नेपालगञ्ज नर्सिङ होममा पठाएका थिए।

घटना भएको रेस्टुरेन्टका कर्मचारीहरूसँग पनि प्रहरीले सोधपुछ गरेको छ। एक कर्मचारीका अनुसार निरज आइतबार पैसा माग्न आएपछि विवाद बढेको र फरार आरोपीले बन्दुक तानेर ‘एक्सिडेन्ट्ली’ गोली चलाएको बयान दिएका छन्।

हत्या भएका निरजका बाबु–आमा रोजगारीका लागि भारतमा बस्दै आएका छन्। पोस्टमार्टम उनीहरू आएपछि मात्रै गरिने प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया