काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले माघ १३ गतेदेखि १५ गतेसम्म पोखरा ग्रान्डमा ‘एमडीआरटी अचिभर्स अवार्ड–२०२६’ भव्य रूपमा सम्पन्न गरेको छ। सन् २०२५ को जनवरीदेखि डिसेम्बरसम्मको अवधिमा एमडीआरटी–२०२६ का लागि योग्य भएका ११० जना अभिकर्तालाई सो अवसरमा सम्मान गरिएको हो। पानसमा दीप प्रज्वलन गरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कार्यक्रमको उद्घाटन गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले एमडीआरटी जस्तो अन्तर्राष्ट्रिय संस्थाले निर्धारण गरेको मापदण्ड पूरा गरी क्वालिफाइ हुन सफल अभिकर्ताहरूलाई बधाई दिँदै आगामी दिनका लागि शुभकामना व्यक्त गरे। उनले क्वालिफाइड अभिकर्ताहरूलाई अन्तर्राष्ट्रिय स्तरमा गएर एक्सपोजर लिन आग्रह गर्दै बीमा क्षेत्रमा रहेका अन्तर्राष्ट्रिय असल अभ्यासहरूसँग साक्षात्कार गर्न यस्ता कार्यक्रमले सहयोग गर्ने तथा नेपालमा बीमा सम्बन्धी नीति निर्माणमा समेत योगदान पुग्ने बताए। विश्व अर्थतन्त्रमा देखिएको मन्दीको प्रभाव नेपालमा पनि परेको अवस्थामा समेत उत्कृष्ट प्रदर्शन गर्न सफल अभिकर्ताहरूको उनले मुक्तकण्ठले प्रशंसा गरे।
आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग हरेक क्षेत्रमा तीव्र रूपमा बढ्दै गएको सन्दर्भ उल्लेख गर्दै अग्रवालले आगामी दिनमा रोजगारीका क्षेत्रमा चुनौती देखिए पनि बीमा अभिकर्ताको पेशा कहिल्यै विस्थापित नहुने भएकाले यो सुरक्षित र सम्मानित पेशा रहेको स्पष्ट पारे। उनले सो पेशाको गरिमा कायम राख्दै जीवन बीमाबारे जनचेतना आम नागरिकसम्म पुर्याउन अभिकर्ताहरूलाई आग्रह गरे।
स्वागत मन्तव्य व्यक्त गर्दै प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीले यति भव्य कार्यक्रम आयोजना गर्न पाउँदा खुशी लागेको बताए। उनले नेपाल लाइफले बीमा बजारको करिब एक तिहाइ हिस्सा ओगटेको उल्लेख गर्दै आगामी दिनमा आम नागरिकबीच बीमाको पहुँच विस्तार गरी कम्पनीको उपस्थितिलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे। पराजुलीले कम्पनीको मेरुदण्ड नै अभिकर्ताहरू रहेको बताउँदै उनीहरूको अथक मेहनतका कारण नेपाल लाइफ सफल भएको र भविष्यमा अझ सबल रूपमा अगाडि बढ्नेमा आफू विश्वस्त रहेको जनाए। अभिकर्ताहरूको चौतर्फी विकासका लागि कम्पनी सदैव संवेदनशील रहेको उनको भनाइ थियो।
कार्यक्रममा नेसनल सेल्स हेड उमापति पोखरेलले सम्मानित हुने सबैलाई बधाई दिँदै आगामी वर्ष अझ बढी संख्यामा एमडीआरटीहरूलाई सम्मान गर्न कम्पनी उत्साहित रहेको बताए। उनले थप ऊर्जा र एकताका साथ बीमालाई नेपालीको घरदैलोसम्म पुर्याउन सम्पूर्ण अभिकर्ताहरूलाई युद्धस्तरमा लाग्न आह्वान गरे।
पेशागत बीमा अभिकर्ता महासंघका महासचिव ओम केसीले गत वर्षको लक्ष्य प्राप्तिमा योगदान दिने सबै अभिकर्ताहरूलाई धन्यवाद दिँदै नेपाल लाइफका अभिकर्ता देशकै अब्बल र सक्षम रहेको बताए। त्यस्तै, पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीले कम्पनी व्यवस्थापनलाई भव्य कार्यक्रमका लागि धन्यवाद दिँदै सम्पूर्ण क्वालिफाइड एमडीआरटीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरे।
अभिकर्ताहरूको तर्फबाट मन्तव्य राख्दै मुक्तिनाथ काप्रीले नेपाल लाइफको निरन्तर सहयोग, मार्गदर्शन र उत्प्रेरणाकै कारण आज उल्लेख्य संख्यामा एमडीआरटी तथा सीओटी बन्न सफल भएको बताए। उनले अभिकर्ताको सिप विकासका लागि कम्पनीले सञ्चालन गर्दै आएका कार्यक्रमहरूको मुक्तकण्ठले प्रशंसा गर्दै आगामी दिनमा अझ परिस्कृत बनाउन सुझाव दिए।
तीन दिनसम्म चलेको उक्त कार्यक्रममा गायिका अस्मिता अधिकारी, गायक महेश काफ्ले र बद्री पंगेनीको विशेष गायन प्रस्तुति रहेको थियो भने कमेडियन सुबोध गौतम र प्रभात लामाले पनि मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए।