एसियन गेम्स क्रिकेट छनोटमा चीनमाथि नेपालको जित

nepaltext

काठमाडौं । एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ ।

नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन बनाइन् ।

कप्तान झु आउट हुनुअघिसम्म चीन १५.५ ओभरमा ९०-२ को अवस्थामा थियो । मनिषा उपाध्यायको बलमा उनी आउट भएपछि चीनको रनगति कम भएको थियो ।

नेपालका लागि रिया शर्माले २ विकेट लिइन् भने कविता कुँवर, मनिषा उपाध्याय र पूजा महतोले १-१ विकेट लिए ।

त्यसअघि मलेसियाको वायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १२५ रन बनाएको हो । पूजा महतोले ५७ बलमा ६ चौकासहित ६३ रन बनाइन् ।

रुबी पोद्दार २२ रनमा अविजित रहिन् भने सोनी पाख्रिनले १८ रन बनाइन् । कविता कुँवरले ५, सम्झना खड्का र रुबिना क्षेत्रीले ४-४ रन बनाए ।

चीनका लागि मा रुइकेले २ विकेट लिइन् भने वान हुइङ र लिय जियापिङले १-१ विकेट लिए ।

प्रतियोगितामा भोलि नेपालले इन्डोनेसियासँग खेल्नेछ ।

प्रतिक्रिया