आज देशभर इद उल फित्र पर्व मनाइँदै

nepaltext

काठमाडौँ । मुस्लिम समुदायले पवित्र रमजान महिनाभरि रोजा (व्रत) पूरा गरेपछि आज देशभर विशेष उत्साहका साथ इद उल फित्र पर्व मनाइरहेका छन्।

यस अवसरमा बिहानै मस्जिद र इदगाहमा भेला भई विशेष नमाज अदा गरिन्छ। नमाजपछि परिवार तथा आफन्तसँग भेटघाट गरी ठूलाबडाबाट आशीर्वाद लिने र सानालाई आशीर्वाद दिने परम्परा छ। इद मनाउने क्रममा सेवई, खजुर लगायतका परिकार बनाएर अतिथिलाई सत्कार गर्ने चलन पनि रहेको छ।

यो पर्व दान र सहयोगको भावना सँगसँगै जोडिएको छ। आर्थिक रूपमा सक्षम व्यक्तिले आफ्नो आम्दानीको साढे दुई प्रतिशत ‘जकात’ का रूपमा दान गर्ने प्रचलन छ, जुन गरिब तथा विपन्न वर्गलाई वितरण गरिन्छ। त्यसैगरी ‘सदकात फितर’ स्वरूप गहुँ वा सो बराबरको नगद दान गर्ने परम्परा पनि रहेको छ, जसमा नवजात शिशुसमेत समावेश गरिन्छ।

काठमाडौँस्थित जामे मस्जिद घण्टाघर लगायत देशभरका मस्जिदहरूमा विशेष कार्यक्रमका साथ नमाज अदा गरिएको छ। त्यसपछि आफन्त तथा इष्टमित्रकहाँ गएर शुभकामना आदानप्रदान गर्ने क्रम सुरु हुन्छ।

एक महिनासम्म सूर्योदयदेखि सूर्यास्तसम्म रोजा बसेर आत्मशुद्धि गर्ने विश्वास रहेको यस पर्वमा नयाँ कपडा लगाउने, आपसी सद्भाव साट्ने र खुसी सँगसँगै बाँड्ने चलन छ।

यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया